Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बालेन विरूद्ध किन परे उजुरी ?

काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रीय स्वतंत्र पार्टी (रास्वपा)का वरिष्ट नेता बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै निवेदक धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा उजुरी दिएका हुन्।


निवेदनमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भलाई लिएर बालेन शाहले सामाजिक सञ्जालमा दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्म विपरीत रहेको उल्लेख गरिएको छ।

निवेदनमा बालेन शाहले प्रयोग गरेका '७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने' जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक तथा तथ्यहीन आरोप भएको दाबी गरिएको छ।

यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्‍याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने र मतदाताको मानसिकता भ्रमित पार्ने खतरा रहेको निवेदनमा उल्लेख गरिएको छ।