Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

६६ दल चुनावी प्रतिस्पर्धामा, प्रतिनिधिसभामा कसको कति उम्मेदवारी?

आगामी प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा ६६ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारी मनोनयन विवरणअनुसार १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने एकमात्र दल नेपाली कांग्रेस बनेको छ । कांग्रेसबाहेक कुनै पनि दलले सबै क्षेत्रमा उम्मेदवारी दिएको देखिँदैन । आयोगका अनुसार सांसद बन्ने आकांक्षासहित दल तथा स्वतन्त्र गरी ३४८४ उम्मेदवार मैदानमा उत्रिएका छन्। स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य देखिएको छ । आयोगको विवरणअनुसार १ हजार १४३ जना व्यक्तिले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यसले निर्वाचन प्रतिस्पर्धा थप रोचक र बहुआयामिक हुने संकेत गरेको छ ।

प्रत्यक्ष निर्वाचनतर्फ दलगत रूपमा नेपाली कांग्रेसपछि नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समान संख्यामा उम्मेदवार उठाएका छन् । यी तीनै दलले १६४/१६४ क्षेत्रमा उम्मेदवारी दिएका छन् । एक–एक निर्वाचन क्षेत्रमा भने उनीहरूले उम्मेदवार नउठाएको आयोगले जनाएको छ ।

कांग्रेस, एमाले, नेकपा र रास्वपापछि धेरै क्षेत्रमा उम्मेदवारी दिने दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बनेको छ । राप्रपाले १६५ मध्ये १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । यसले राप्रपाको सक्रिय चुनावी उपस्थितिलाई संकेत गर्छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले १३० जना उम्मेदवार खडा गरेको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले देशभर १२० जना उम्मेदवार उठाएको छ । मंगोल नेशनल अर्गनाइजेसनले ११३ स्थानमा उम्मेदवारी दिएको छ भने श्रम संस्कृति पार्टीले १०९ जना उम्मेदवार खडा गरेको छ । उज्याले नेपाल पार्टीले १०५ स्थानमा उम्मेदवार उठाएको आयोगको विवरणमा उल्लेख छ ।

मध्यम स्तरका दलहरूमा आम जनता पार्टीले ९८ जना, जनता समाजवादी पार्टी, नेपालले ९४ जना र प्रगतिशील लोकतान्त्रिक पार्टीले ८२ जना उम्मेदवार उतारेका छन् । राष्ट्रिय जनमोर्चाले ७० र जनमत पार्टीले ६१ जनालाई चुनावी मैदानमा उतारेको छ ।

त्यसैगरी नेशनल रिपब्लिक नेपालबाट ४६ जना, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)बाट ३५ जना र राष्ट्रिय मुक्ति पार्टी नेपाल बाट ३३ जना उम्मेदवार छन् । मितेरी पार्टी नेपालले २९ जना उम्मेदवार खडा गरेको छ भने नागरिक उन्मुक्ति पार्टी, नेपाल बाट २४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट २३ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा संयुक्त नागरिक पार्टीले २१ जना, नेपाल जनता पार्टीले २० जना र जनता समाजवादी पार्टीले १९ जना उम्मेदवार उठाएका छन् । नेपाल जनमुक्ति पार्टीले १८, राष्ट्रिय जनमुक्ति पार्टीले १७ र राष्ट्रिय परिवर्तन पार्टीले पनि १७ जना उम्मेदवार मैदानमा उतारेका छन् । जय मातृभूमि पार्टीबाट १४ जना उम्मेदवार खडा भएका छन् ।

आयोगका अनुसार राष्ट्र निर्माण दल नेपालबाट १३ जना उम्मेदवार छन् । नेपालका लागि नेपाली पार्टीले १० जना उम्मेदवार उठाएको छ । नेपाल संघीय समाजवादी पार्टी (एकल चुनाव चिह्न)बाट ८ जना, नेपाल जनसेवा पार्टी र बहुजन एकता पार्टी नेपाल (एकल चुनाव चिह्न)बाट ७/७ जना उम्मेदवार छन् ।

यस्तै जन अधिकार पार्टी, नेपाल मानवतावादी पार्टी, समावेशी समाजवादी पार्टी र सार्वभौम नागरिक पार्टीबाट ६/६ जना उम्मेदवार छन् । नेपाल लोकतान्त्रिक पार्टी, नेपाली जनता दल र राष्ट्रिय एकता दलले ५/५ जना उम्मेदवार खडा गरेका छन् ।

चार/चार जना उम्मेदवार उठाउने दलमा जनता लोकतान्त्रिक पार्टी, नेपाल, राष्ट्रिय जनमत पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल) र जनादेश पार्टी नेपाल रहेका छन् । तीन/तीन जना उम्मेदवार उतार्ने दलहरूमा गतिशील लोकतान्त्रिक पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल, त्रिमूल नेपाल, नेपाल जनता संरक्षण पार्टी, पिपुल्स फर्स्ट पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, बहुजन शक्ति पार्टी, राष्ट्रिय उर्जाशील पार्टी नेपाल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन् ।

दुई/दुई स्थानमा उम्मेदवार उठाउने दलहरूमा नागरिक उन्मुक्ति पार्टी, नेपाली जनश्रमदान संस्कृति पार्टी, युनाइटेड नेपाल डेमोक्रेटिक पार्टी, समावेशी समाजवादी पार्टी नेपाल र स्वाभिमान पार्टी रहेका छन् । एक–एक स्थानमा मात्र उम्मेदवार खडा गर्नेमा इतिहासिक जनता पार्टी, गान्धीवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी), नेपाल मातृभूमि पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय सद्भावना पार्टी र राष्ट्रिय साझा पार्टी छन् ।

आयोगका अधिकारीहरूका अनुसार ठूलो संख्यामा दल र स्वतन्त्र उम्मेदवारको सहभागिताले निर्वाचनलाई प्रतिस्पर्धात्मक बनाएको छ । उम्मेदवारी दर्तापछि अब चुनावी प्रचार–प्रसार तीव्र हुने र मतदातासमक्ष विभिन्न विचार, नीति र एजेन्डा प्रस्तुत हुने अपेक्षा गरिएको छ ।