Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

सानिमा बैंकका नवनियुक्त सीईओ पवन आचार्यले गरे पदभार ग्रहण

सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार आचार्यले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । बैंकका अनुसार आचार्यले माघ १२ गते बिहान सीईओको जिम्मेवारी सम्हालेका हुन् ।

सानिमा बैंक सञ्चालक समितिको २०८२ कार्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो । उनी यसअघि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।

आचार्य विगत २१ वर्षदेखि सानिमा बैंकमा आबद्ध रहँदै आएका छन् । यस अवधिमा उनले दशभन्दा बढी विभाग तथा शाखाको नेतृत्व गर्दै बैंकको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । उनका प्रमुख कार्य क्षेत्रहरूमा कर्जा मूल्याङ्कन, डिजिटल बैंकिङ तथा परियोजना वित्त समावेश छन् ।

शैक्षिक पृष्ठभूमितर्फ, आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तथा भारतको एमएनआईटी, जयपुरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन् । बैंकिङ क्षेत्रबाहेक उनीसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव तथा पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा सेवा गरेको अनुभव पनि रहेको बैंकले जनाएको छ । उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल लिमिटेडका अध्यक्षसमेत रहिसकेका छन् ।