Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

गरिमा विकास बैंक र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघबीच सम्झौता सम्पन्न

गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (क्यान) मा आबद्ध चार्टर्ड एकाउण्टेण्टहरूलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा संघसँग सम्झौता गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार क्यानमा आबद्ध चार्टर्ड एकाउण्टेण्ट सदस्यहरूले न्यूनतम आवश्यक कागजातका आधारमा ७५ हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, आवश्यक प्रक्रिया पूरा गरेपछि बिना धितो १५ लाख रुपैयाँसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा पनि लिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यसका अतिरिक्त गरिमा विकास बैंकले क्यानमा आबद्ध सदस्यहरूलाई आकर्षक ब्याजदरमा घर कर्जा तथा सवारी साधन कर्जा सुविधा समेत उपलब्ध गराउनेछ । हाल बैंकले “अब आफ्नै घर” भन्ने नारासहित ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि नै गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गर्दै आइरहेको छ ।

गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ वटा शाखा कार्यालय, ५१ वटा एटिएम तथा नवीनतम डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ५० हजार ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।