Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

युवादेखि वृद्धासम्म चुनावी मैदानमा, मतदाताले कसलाई रोज्लान् ?

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा नयाँ र युवा पुस्तासँगै अनुभवी र पाका नेताहरूको सक्रियता पनि उत्तिकै देखिएको छ । कोशी प्रदेशमा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार ७० वर्ष वा सोभन्दा माथिल्लो उमेरका १३ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् ।

यस निर्वाचनमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका ७४ वर्षका केपी शर्मा ओली झापा–५ बाट मैदानमा छन् भने कांग्रेसका ७२ वर्षीय नेता विजयकुमार गच्छदार सुनसरी–३ बाट पुनः प्रतिस्पर्धामा छन् ।

कोशी प्रदेशकै सबैभन्दा ज्येष्ठ उम्मेदवारका रूपमा हिरण्यप्रसाद भट्टराई देखिएका छन् । उनी अहिले ८३ वर्षका छन् । उनले झापा क्षेत्र न १ बाट नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवारी दिएका हुन् । त्यस्तै ओखलढुङ्गा–१ बाट राष्ट्रिय जनमोर्चाका ८० वर्षीय शेर बहादुर खत्री पनि मैदानमा छन् ।

कोशी प्रदेशका प्रभावशाली र राष्ट्रिय राजनीतिको शीर्ष तहमा रहेका धेरै उम्मेदवारहरू ७० वर्षको उमेर समूहमा छन् । 

यस्तै नेपाल जनमुक्ति पार्टीका तर्फबाट झापा–२ मा उम्मेदवारी दिएका मनबहादुर पुलामी मगर ७५ वर्षका छन् भने नेपाली कांग्रेसको तर्फबाट भोजपुर–१ मा बालकृष्ण थापा ७३ वर्षका छन् । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सुनसरी–४ का प्रेम प्रसाद भट्टराई ७२ वर्षका छन्।  जनमत पार्टीको तर्फबाट झापा–३ मा पनि ७१ वर्षका हरसलाल राजवंशी छन् ।

यस्तै प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट कुल ४९५ जना चुनावी मैदानमा उत्रिएका छन् । पाका मात्रै होइनन्, यस पटकको निर्वाचनमा २५ वर्षका युवाहरू पनि प्रतिस्पर्धामा उत्रिएका छन् । 

मोरङ–४ बाट २५ वर्षीय शालिकराम राई र मोरङ–५ बाट २५ वर्षीया गंगा कुमारी राजवंशी उम्मेदवार बनेका छन् भने रास्वपाबाट झापा–१ बाट उम्मेदवार बनेकी निशा डाँगी २९ वर्षकी छिन् । अर्का रास्वपाबाटै तेह्रथुमका सुरेन्द्र कार्की २८ वर्षका छन् ।

कोशी प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूको संख्या ठुलो छ । कुल ४९५ मध्ये ९१ जना स्वतन्त्र छन् । जुन कुल संख्याको करिब १८।४ प्रतिशत हो ।