Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

एउटै पालिकाबाट छ जना उम्मेदवार : महिला शून्य

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा एउटै पालिका (स्थानीय तह) बाट छ जनाले उम्मेदवारी दिएका छन् ।

मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत विभिन्न राजनीतिक दल र स्वतन्त्रका तर्फबाट उम्मेदवारी (मनोनयन) दर्ता गराउने दुई स्वतन्त्रसहित १३ जनामध्ये छ जना बेनी नगरपालिकाका रहेको छ । त्यसैगरी एउटै वडाका दुई जनाले उम्मेदवारी दिएको छ । म्याग्दीमा कुनै पनि महिलाले उम्मेदवारी दर्ता गराएका छैनन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट उम्मेदवारी दिएका हरिकृष्ण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को तर्फबाट क्षेत्रबहादुर घिमिरे (धु्रव) र स्वतन्त्र उम्मेदवार बन्नुभएका नवीन जिसी बेनी नगरपालिकाका स्थायी बासिन्दा छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका क्षेत्रबहादुर घिमिरे (धु्रव) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका डम्बरबहादुर सुवेदी बेनी नगरपालिका–२ ज्यामरुककोटका छन् । एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका हरिकृष्ण श्रेष्ठ र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका देवेन्द्र कामी बेनी नगरपालिका–७ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका युवराज रोका बेनी नगरपालिका–४ र स्वतन्त्र उम्मेदवार नवीन जिसी बेनी नगरपालिका–८ का छन् ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी रघुगङ्गा गाउँपालिका र स्वतन्त्र उम्मेदवारी दिएका डा महावीर पुन अन्नपूर्ण गाउँपालिकाका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएका अर्जुनबहादुर थापा धवलागिरि गाउँपालिकाका छन् । 

यता म्याग्दीबाट मनोनयन दर्ता गराएका १३ जनाकै उम्मेदवारी कायम रहेको छ । बुधबारका लागि तोकिएको दाबीविरोध वा उजुरीको समयावधिमा कसैको पनि उजुरी नपरेपछि सबै जनाको उम्मेदवारी कायम रहेको सहायक जिल्ला निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले जानकारी दिए । नेसनल रिपब्लिक नेपालका तुलप्रसाद गर्बुजा ९तार्जन० ले आफ्नो उम्मेदवारी फिर्ता लिँदै स्वतन्त्र उम्मेदवार डा महावीर पुनलाई समर्थन गरेको छ । यद्यपि जिल्ला निर्वाचन कार्यालयबाट उम्मेदवारी फिर्ता भने बिहीबार साँझसम्म लिएको छैन ।

बिहीबार एक विज्ञप्ति प्रकाशित गरी प्रतिनिधिसभा सदस्यका लागि आफूले दिएको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवार डा पुनलाई समर्थन गरेको जनाएको हो । एउटामात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचनका लागि कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।