Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कृषि मन्त्री र एफएओकी निर्देशकबीच भेटवार्ता

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) की दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाकी निर्देशक तथा महानिर्देशकको कार्यालयकी उपप्रमुख हुआ याङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा नेपालको खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि तथा खाद्य प्रणालीको विकास र दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउन, खाद्य सुरक्षालाई थप सुदृढ गर्न तथा अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनका लागि एफएओसँगको सहकार्य अझ विस्तार गर्न नेपाल इच्छुक रहेको बताएकी थिइन् ।

छलफलका क्रममा सीमापार पशुरोग नियन्त्रण, जलवायु परिवर्तनअनुकूल कृषि विकास, कृषि प्रयोगशालाको क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना, उच्च मूल्यका कृषि उपजको निर्यात प्रवर्द्धन तथा भौगोलिक सङ्केतसम्बन्धी कानुनी र संस्थागत व्यवस्था सुदृढ गर्ने विषयमा पनि विचार आदान–प्रदान भएको थियो।

निर्देशक हुआ याङले आफूले हालै दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाको नेतृत्व सम्हालेको उल्लेख गर्दै नेपाललाई प्राथमिकतामा राखेर सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । उनले कृषि विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम तथा इटालीको रोमस्थित एफएओ मुख्यालयमा आयोजना हुने कार्यक्रममा नेपालको सहभागिताका लागि निमन्त्रणा समेत दिएकी थिइन् ।

भेटवार्ताको अन्त्यमा नेपाल सरकार र एफएओबीचको साझेदारीलाई थप सुदृढ बनाउँदै दिगो, उत्थानशील र समावेशी कृषि तथा खाद्य प्रणाली विकासका लागि सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन् ।