आगामी प्रतिनिधिसभा निर्वाचन नेपाली राजनीतिमा सामान्य प्रतिस्पर्धाभन्दा धेरै माथि उठेर निर्णायक र ऐतिहासिक मोडमा प्रवेश गर्ने संकेत देखिएको छ। यसपटकको चुनावमा पुराना स्थापित शक्तिहरू, उदाउँदा नयाँ दल र स्वतन्त्र धारका चर्चित अनुहारहरू एउटै निर्वाचन क्षेत्रमा आमनेसामने उत्रिँदा राजनीतिक वातावरण असाधारण रूपमा तातेको छ।
पूर्वप्रधानमन्त्रीदेखि नयाँ पुस्ताका प्रभावशाली नेतासम्म प्रत्यक्ष प्रतिस्पर्धामा होमिँदा यो निर्वाचन केवल सिट जित–हारको प्रश्नमा सीमित छैन, बरु पुरानो राजनीतिक शैली र नयाँ सोचबीचको टकरावको रूपमा उभिएको छ। झापा, गोरखा, रुकुम, काठमाडौं, चितवनदेखि सुदूरपश्चिमसम्म चर्चित नामहरूको भिडन्तले मतदाताको चासो उच्च बनाएको छ। कतिपय अनुभवी नेताहरू चुनावी मैदानबाट बाहिरिँदा नयाँ अनुहारहरू अघि सरेका छन्। समग्रमा, शक्ति सन्तुलन बदलिन सक्ने सम्भावनासहित यो निर्वाचन नेपाली राजनीतिको भविष्य निर्धारण गर्ने महत्वपूर्ण कसौटीका रूपमा देखिन थालेको छ।
झापा–५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहबीच रोचक प्रतिसपर्धा हुने भएको छ। यो प्रतिस्पर्धाले देशको भावी प्रधानमन्त्री तय गर्नेछ ।
गोरखा–२ मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको राजनीतिक धरातलमा यसपटक फरक खालको चुनौती देखिएको छ। सशस्त्र द्वन्द्वकालका सहकर्मी लेखनाथ न्यौपानेदेखि लिएर चर्चित गुण्डा नाइके चक्रे मिलन र रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीसम्म उनका मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।
त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचन लड्ने भएका छन्। प्रचण्ड भने निर्वाचन क्षेत्र परिवर्तन गर्दै आउने नेताका रूपमा चिनिन्छन् – कुखुराले चल्ला सारेजस्तै पटक–पटक निर्वाचन क्षेत्र सार्दै आएको आलोचना पनि हुँदै आएको छ। सोही पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि रौतहट निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिनेका छन्।
यस्तै,, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचन नलड्ने भएका छन् भने देउवाकी पत्नी आरजु राणा देउवाले टिकट नै पाइनन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी–१ बाट उम्मेदवारी दिएका छन् भने उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ–३ बाट उम्मेदवारी दिएका छन्।
यस्तै, सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा र हिजो मात्रै रास्वपा प्रवेश गरेका नेता अमरेश कुमार सिंहबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। यस्तै, चितवन–३ मा रास्वपा नेता सोविता गौतम र भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेणु दाहालबीचको भिडन्तले पनि चर्चा पाएको छ।
भक्तपुर–२ मा सामाजिक सञ्जालमा प्रायः जुहारी खेल्दै आएका नेकपा एमालेका सचिव महेश बस्नेत र रास्वपा नेता राजीव खत्रीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
गुल्मी–१ मा अघिल्लो निर्वाचनमा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका सागर ढकालले यसपटक कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारी र एमाले नेता प्रदीप ज्ञवालीसँग चुनावी भिडन्त गर्ने भएका छन्।
कञ्चनपुर–२ मा रास्वपा सभापति रवि लामिछानेका ‘दायाँ हात’ भनेर चिनिने दीपक बोहरा र कांग्रेस नेता तथा पूर्वपरराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउँदबीच रोचक प्रतिस्पर्धा हुने निश्चित देखिन्छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता गरेका छन। लिङ्देन गएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
यस्तै, झापा–२ मा पूर्वसभामुख देवराज घिमिरे र पूर्वउपसभामुख इन्दिरा रानाबीच प्रत्यक्ष भिडन्त हुने भएपछि यो क्षेत्र पनि चर्चामा आएको छ।
जुम्ला–१ मा राप्रपा प्रवक्ता ज्ञान बहादुर शाही र रास्वपा नेता विनिता कठायतबीचको प्रतिस्पर्धा पनि विशेष चासोको विषय बनेको छ।
यस्तै, सिराहा–१ बाट निवर्तमान नगरीक सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले उम्मेदवारी दिनेका छन् भने सञ्चारमन्त्री जगदीश खरेल ललितपुर–२ बाट चुनावी मैदानमा उत्रिने भएका छन्।
यस्तै, राजनीतिमा नआउने बताउँदै आएका निवर्तमान शिक्षा मन्त्री म्याग्दीबाट चुनाव लड्ने भएका छन् ।
यसैगरी, सामाजिक अभियन्ताहरु भनेर चिनिएकाहरु पनि चुनावमा होमिएका छन् । उनीहरु धेरैजना रास्वपाबाट चुनाव लड्ने भएका छन् । सुदन गुरुङले गोरखा १ बाट उम्मेदवारी दिएका छन् । धादिङ १ बाट आशिका तामाङ, बाजुराबाट हेमराज थापाले उम्मेदवारी दिएका छन् ।
यस्तै, नेपाली काँग्रेसका बिनोद चौधरीले नवलपरासी पश्चिमबाट उम्मेदवारी दिएका छन् । चर्चित पत्रकार ऋषि धमलाले रौतहट ४ बाट बाट उम्मेदवारी दिएका छन् ।
आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलका चर्चित नेताहरूले आ–आफ्ना निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन्।
अछाम–१ बाट भिम रावलले उम्मेदवारी दिएका छन् भने कैलाली–१ बाट रेशम चौधरी उम्मेदवार बनेका छन्। यस्तै,, मोरङ–६ मा डा. शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन्। सर्लाही–३ बाट नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेका छन्।
रोल्पाबाट वर्षमान पुन उम्मेदवार बनेका छन् भने रुपन्देही–२ बाट विष्णु पौडेल उम्मेदवार भएका छन्। नुवाकोट–१ मा डा. प्रकाशशरण महत उम्मेदवार बनेका छन्।
यसैगरी, सुनसरी–४ मा नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दिएका छन् भने रुकुम पश्चिमबाट जनार्दन शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै,, पूर्व गृहमन्त्री रमेश लेखकले यसपटक चुनावी टिकट प्राप्त गर्न सकेनन्। उता, नेपाल कम्युनिस्ट माओवादी पार्टीका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले निर्वाचन नलड्ने घोषणा गरेका छन्।
यसैगरी, नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेलाई पनि पार्टीबाट टिकट दिइएन। अर्कोतर्फ, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भने यसपटक उम्मेदवार नबन्ने स्पष्ट पारेका छन्। उनले आफूले धनगढीका जनतासँग पाँच वर्षका लागि मत मागेको र कार्यकाल पूरा हुनुअघि उम्मेदवार बन्नु जनताप्रति धोका हुने भन्दै चुनावमा नउत्रिने बताएका छन्।
समग्रमा हेर्दा, आगामी प्रतिनिधिसभा निर्वाचनमा नयाँ र पुराना राजनीतिक शक्तिहरूको प्रत्यक्ष टकराव, चर्चित अनुहारहरूको आमनेसामने प्रतिस्पर्धा र मतदाताको बढ्दो सचेतनाले यस निर्वाचनलाई ऐतिहासिक र निर्णायक बनाउने देखिएको छ।