माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल आउने चिनियाँ पर्यटकहरूको डिजिटल भुक्तानी सेवालाई सहज, सरल र विश्वसनीय बनाउने उद्देश्यले चीनको ठूलो भुक्तानी प्रदायक कम्पनी टेनपे पेमेन्ट टेक्नोलोजी कम्पनी लिमिटेड (Tenpay Payment Technology Co. Ltd. ) सँग प्रत्यक्ष सम्झौता गरेको छ ।
टेनपे पेमेन्ट टेक्नोलोजी चीनमा अत्यन्त लोकप्रिय रहेको वी च्याट पे (वीक्सिन पे) WeChat Pay (Weixin Pay) सञ्चालन गर्ने मुख्य कम्पनी हो ।
सम्झौताका मुख्य विशेषताहरूः
अन्तर्राष्ट्रिय भुक्तानीः यो सम्झौता पश्चात् माछापुच्छ्रे बैंकले वी च्याट पे मार्फत नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्नेछ ।
मुद्रा व्यवस्थापनः चिनियाँ पर्यटकहरूले नेपालमा सामान वा सेवा खरिद गर्दा सिधै चिनियाँ मुद्रा (CNY) प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।
व्यापारीलाई फाइदाः नेपाली व्यापारीहरूले भने उक्त भुक्तानीको रकम सिधै नेपाली रुपैयाँ (NPR) मा आफ्नो बैंक खातामा प्राप्त गर्नेछन् ।
पर्यटन र अर्थतन्त्रमा प्रभावः बैंकका अनुसार यो सेवाले नेपालको पर्यटन, खुद्रा व्यापार तथा सेवा क्षेत्रमा सुरक्षित र सहज डिजिटल कारोबारलाई प्रोत्साहन गर्नेछ । यो कदमले ‘डिजिटल नेपाल फ्रेमवर्क’ र नेपाल राष्ट्र बैंकको नगद–रहित अर्थतन्त्र (Cashless Economy) को रणनीतिक पहललाई टेवा पुऱ्याउने विश्वास लिइएको छ ।
साथै, यस साझेदारीले वित्तीय डिजिटल समावेशीकरण र भुक्तानी पूर्वाधारको आधुनिकीकरणमा समेत उल्लेखनीय भूमिका खेल्ने अपेक्षा बैंकले गरेको छ ।