Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा मिति २०८२ साल पौष २४ गते बिहीबार अम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शाल, काठमाडौंमा सम्पन्न भएको छ। सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रले व्यक्ति, व्यवसाय तथा सम्पत्तिलाई विभिन्न जोखिमबाट जोगाउँदै राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे।

अध्यक्ष ढकालका अनुसार बीमा बजारको विकास, पहुँच र विश्वसनीयता कुनै पनि देशको आर्थिक अवस्थाको प्रमुख सूचक मानिन्छ। यही मान्यतालाई आत्मसात गर्दै कम्पनीले बीमा बजारलाई स्वच्छ, पारदर्शी र भरपर्दो बनाउने लक्ष्यसहित स्थापना भएको २८ वर्ष सफलतापूर्वक पूरा गरेको जानकारी गराए।

सभाले शेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। साथै, पानीपोखरीस्थित कम्पनीको आफ्नै २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा निर्माण सम्पन्न भएको ११ तले भवन यही आर्थिक वर्षभित्र सञ्चालनमा ल्याई प्रधान कार्यालय त्यहाँ सार्ने योजना पनि सभामा जानकारी गराइएको छ। कम्पनीले आवश्यक चार तला प्रयोग गरी बाँकी तला भाडामा लगाएर आम्दानी गर्ने लक्ष्य लिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हाल कम्पनी देशभरका ९० शाखामार्फत ५३१ कर्मचारी, ४३० अभिकर्ता र १९२ सर्भेयरद्वारा सेवा प्रदान गरिरहेको जानकारी दिए। चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँसहित कम्पनी निर्जीवन बीमा क्षेत्रमा सबैभन्दा ठूलो कम्पनीका रूपमा रहेको उनले बताए।

समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी बीमा प्रिमियम संकलन गरेको र १८ हजारभन्दा बढी दाबी वापत २ अर्ब ४६ करोड रुपैयाँ भुक्तानी गरेको जानकारी सभामा दिइयो। कम्पनीले डिजिटल, ग्राहकमैत्री तथा दिगो बीमा सेवामा थप जोड दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।