Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम सम्पन्न

नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) अन्तर्गत सञ्चालनमा रहेको फेलोसिप कार्यक्रमका सहभागीलाई बिदाइ तथा नयाँ सहभागीलाई स्वागत गरेको छ ।

बैंकले सोमबार आयोजना गरेको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रममा चौथो र पाँचौँ समूहका सहभागीलाई बिदाइ गर्दै छैटौँ समूहका सहभागीलाई स्वागत गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका चौथो र पाँचौँ समूहका ४० जना सहभागीलाई नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसीले प्रमाणपत्र वितरण गरे । कार्यक्रममा छैटौँ समूहका २० जना सहभागीलाई औपचारिक रूपमा स्वागत गरिएको थियो । सो अवसरमा फेलोसिपमा सहभागी सामाजिक उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको प्रदर्शनीसमेत गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष पौडेलले नबिल एसएसईले युवालाई उद्यममार्फत स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वास जगाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले नबिल एसएसईका प्रशिक्षार्थीले हालसम्म १७ हजार रोजगारी सिर्जना गरिसकेको उल्लेख गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसीले नबिल बैंकले सुरु गरेको कार्यक्रम समाजका लागि उदाहरणीय भएको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालयले यसमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । आगामी दिनमा पनि सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नबिल बैंकका सञ्चालक निर्वाण कुमार चौधरीले पाँच वर्षअघि सुरु गरिएको यस कार्यक्रमका सहभागीलाई बधाई दिँदै सफलताको शुभकामना व्यक्त गरे । सुरुमा नबिल बैंक र त्रिभुवन विश्वविद्यालयको मात्र सहकार्यमा सुरु भएको कार्यक्रम अहिले विभिन्न सरोकारवाला पक्षको साझा कार्यक्रम बनेको उनको भनाइ छ ।

“पाँच वर्षको यात्रामा करिब २०० उद्यम स्थापना भई १७ हजारभन्दा बढी रोजगारी सिर्जना भएका छन्,” चौधरीले भने । उनले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै सरोकारवालाप्रति आभार व्यक्त गरे ।

त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका निर्देशक डा. गोविन्द तामाङले नबिल एसएसई सुरुदेखि नै सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले नबिल बैंकसँगको सहकार्य सन् २०२८ सम्मका लागि सम्झौता भइसकेको जानकारी दिँदै यो कार्यक्रम कक्षाकोठामा मात्र सीमित नभई व्यवहारिक र अनुभवमा आधारित रहेको बताए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले स्वागत मन्तव्य दिँदै बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलतामा विशेष जोड दिँदै आएको बताए । उद्यमशीलतामार्फत देशको विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।

नबिल बैंकले सन् २०२१ नोभेम्बर २६ देखि मुलुकभर सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले ‘नबिल एसएसई’ सुरु गरेको हो । त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको फेलोसिप कार्यक्रम छ महिनाको अवधिको हुन्छ । सहभागीले प्रत्येक महिना तीन दिन आवासीय प्रशिक्षण लिने र बाँकी समय आफ्नै कार्यस्थलमा काम गर्ने व्यवस्था गरिएको छ । प्रशिक्षण अवधिभर मेन्टरको व्यवस्था गरी व्यवहारिक समस्याको समाधानमा सहयोग गरिन्छ ।

फेलोसिप कार्यक्रमअन्तर्गत हालसम्म ९६ जना सामाजिक उद्यमी सहभागी भइसकेका छन् । उनीहरूले ६२ उद्यम सञ्चालन गर्दै १४ हजार पाँच सयभन्दा बढी रोजगारी सिर्जना गरेका छन् ।

त्यसैगरी नबिल बैंकले देशका विभिन्न १० शैक्षिक संस्थामार्फत नबिल एसएसई सर्टिफिकेट कोर्स सञ्चालन गर्दै आएको छ । सातै प्रदेशबाट एक हजार ६९ जनाले यसबाट लाभ लिइसकेका छन् । उनीहरूले १३१ उद्यम सञ्चालन गरी दुई हजार पाँच सयभन्दा बढी रोजगारी सिर्जना गरेका छन् ।

नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । नबिल एसएसईलाई बैंकले सामाजिक उद्यमशीलता, रोजगारी सिर्जना र दिगो विकासमा योगदान दिने मुख्य माध्यमका रूपमा अघि बढाएको जनाएको छ ।