Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

चितवनको भरतपुरमा ‘आठौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुँदै

कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यका विगतमा झै यस वर्ष पनि कृषि सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय ‘आठौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी - २०८२’ माघ २, ३ र ४ गते चितवनमा आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. तथा फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा माघ २ गतेदेखि गतेदेखि ४ गतेसम्म चितवनको भरतपुर महानगरपालिका -१०, चितवन एक्स्पो सेन्टरमा उक्त प्रदर्शनी आयोजना हुन लागेको हो । उक्त प्रदर्शनीमा नेपाल भित्रका कृषि उद्यमीहरु, व्यवसायीहरुका साथै विदेशी व्यवसायीहरु तथा कम्पनीहरु रहने छन् । उक्त प्रदर्शनीमा नेपाल, भारत, चीनलगायतका विभिन्न देशका कृषि सम्बन्धी कम्पनीहरुका एक सय बढी स्टल रहने आयोजकले जनाएको छ । 

यस्तै, उक्त प्रदर्शनीमा कृषि र प्रविधिका फरक - फरक समूहका स्टलहरु रहने छन् । उक्त प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु जस्तै: कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई / भैँसी पालन, कृषिका मेसिनरी औजार - उपकरण भेटेनरी, पशु चिकित्सा सेवा, डेरी, खाद्य प्रविधि, कीटनाशक, मल, बिउबिजन, कृषि तालिम र वित्तीय सविधाहरुका बारेमा जानकारी गराइने छ । अवलोकन गर्न आउनेले आफ्नो चाहना आवश्यकता र चासो अनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने गरी व्यवस्था गरिने आयोजकको जनाएको छ । यसलाई ‘ प्रदर्शनी भित्रको प्रदर्शनी ’ पनि भन्न सकिन्छ ।

आयोजकको अनुसार प्रदर्शनीले कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुग्ने उल्लेख छ । नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन प्रदर्शनी कोशेढुङ्गा सावित हुने आयोजकको विश्वास रहेको छ । त्यसैगरी, उक्त प्रदर्शनीले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत पुग्ने र प्रविधिको प्रयोगबाट कृषि उत्पादनमा समेत वृद्धि भई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पु¥याउने आयोजकको विश्वास रहेको छ । 

उक्त प्रदर्शनीमा सबैलाई निःशुल्क प्रवेश रहने छ । प्रदर्शनीमा देशभरबाट बढी भन्दा बढी अवलोकनकर्ताहरु भित्र्याउने लक्ष्य आयोजकको रहेको छ । यसैगरी, उक्त प्रदर्शनीमा देशैभरिका अगुवा किसानहरु, गाउँपालिका तथा नगरपालिकाका प्रतिनिधिहरु, सरकारी तथा गैर - सरकारी संस्थाहरु, निति / निर्माता, व्यवसायीहरु, उद्यमीहरु, व्यापारीहरु, अगुवा कृषकहरु, आयातकर्ताहरु, निर्यातकर्ताहरु, बैंक तथा वित्तिय संस्थाहरु, अनुसन्धानकर्ताहरु, शिक्षकशिक्षिकाहरु, विद्यार्थीहरु र शिक्षण संस्थाहरुको विशेष उपस्थिति हुने भएको छ ।

उक्त प्रदर्शनीको प्रवर्द्धकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ । साथै, उक्त प्रदर्शनीको सहयोगी संस्थाहरुमा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय महासंघ लिमिटेड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, गाउँपालिका  राष्ट्रिय महासंघ नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ र चितवन उद्योग संघ रहेका छन् ।