Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

निगालो होटलले आईपीओ निष्काशन गर्ने

निगालो होटल लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यस सम्बन्धमा आयोजित औपचारिक कार्यक्रममा निगालो होटल लिमिटेडका अध्यक्ष टिका राज बराल र मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा चार्टर्ड अकाउन्टेन्ट अनिल पौडेलको समेत सहभागिता रहेको थियो।

नगरकोटमा अवस्थित चारतारे स्तरको उक्त होटलले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको जनाएको छ।

परम्परागत हेरिटेज शैली र आधुनिक सुविधासहित सञ्चालन हुने होटलमा ६८ वटा प्रिमियम कोठा, बैंक्वेट हल, रेस्टुरेन्ट, बार, स्विमिङ पुल, स्पा, जिमलगायतका सुविधा रहनेछन्।

करिब १ अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त होटल आगामी चार महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी कम्पनीले दिएको छ।