Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन गरिने

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लोकसेवा परीक्षा तयारीका लागि शाखा अधिकृत र नायब सुब्बा लक्षित निःशुल्क अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ ।

आज उद्घाटन कार्यक्रममा प्रतिष्ठानका सदस्य–सचिव ज्ञानेन्द्र पुनले प्रतिष्ठानले हाल सातै प्रदेशमा अभिमुखीकरण तालिम सञ्चालन गरिरहेको जानकारी दिए  । उनले आदिवासी जनजाति समुदायका युवालाई लोक सेवा परीक्षामा प्रतिस्पर्धी बनाउने उद्देश्यले यस प्रकारका लक्षित कार्यक्रम सञ्चालन गरिएको बताए ।

प्रतिष्ठानका उपाध्यक्ष केशव गुरुङले प्रतिष्ठानले आदिवासी जनजातिको हकहित संरक्षण र सशक्तीकरणमा निरन्तर काम गर्दै आएको उल्लेख गरे । “हामीले लिएको लक्ष्यलाई सही रूपमा उपयोग गरे देशका लागि सुयोग्य र सक्षम राष्ट्रसेवक कर्मचारी उत्पादन गर्न सकिन्छ”, उनले भने ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले लोक सेवा आयोग नेपालको पहिलो लोकतान्त्रिक संस्था भएको बताउँदै आयोगमा कुनै पनि प्रकारको धाँधली नहुने स्पष्ट पारे। उनले लोक सेवामार्फत तलब खाएर राष्ट्रको सेवा गर्न पाउनु गौरवको विषय भएको धारणा व्यक्त गरे ।

प्रतिष्ठानका अनुसार कक्षा कार्यक्रमअन्तर्गत शाखा अधिकृतका लागि १६० दिन र नायब सुब्बाका लागि ११५ दिनको तयारी कक्षा सञ्चालन गरिनेछ । प्रतिष्ठानले नेटवर्क एजुकेसन एकेडेमीको सहकार्यमा कक्षा सञ्चालन गर्न लागेको हो । यस कार्यक्रमबाट देशभरका दुई हजारभन्दा बढी विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ ।