Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सानिमा रिलायन्सको नवौ वार्षिक साधारण सभा सम्पन्न

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आव २०८१/८२ को नवौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पौष २४ गते शुभ इवेन्टस, गोल्फुटार, काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्षले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गरे ।

कम्पनीको नवौ वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आरव ०८१/८२ वार्षिक प्रतिवेदन सहित सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि को आरव २०८१/८२ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ ।

साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रूपैयाँको १०.१७८० प्रतिशतका दरले हुने रकम ५१ करोड ४ लाख १८ हजार ९७० रूपैयाँ बराबरको नगद लाभाशं कर सहित वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ । त्यसैगरी आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन, प्रणालीको विकास, ग्राहकमुखी सेवा, अभिकर्तामैत्री उत्प्रेरणात्मक कार्यक्रम, शाखा संजालको विस्तार, सूचना प्रविधीको प्रयोग, मजबुत आन्तरीक नियन्त्रण प्रणाली, खर्चमा मितव्ययीता, कर्मचारीहरुको उच्च मनोबल, बीमितहरुको विश्वास तथा अभिकर्ताहरुको उत्प्रेरणादायी सहयोग, सञ्चालक समितिको अभिभावकिय भुमिकाका साथै मार्गनिर्देशनका कारण बीमा बजारमा कम्पनीले सम्मानजनक स्थान ओगट्न सफल भएको जानकारी गराए। मर्जरमा आएका चुनौतिहरुलाई धैर्यतापूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई एक सबल, सक्षम कम्पनीको रुपमा सञ्चालन गर्दै आइरहेको व्यहोरा उल्लेख गरे ।

कम्पनीको नवौ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण सेयरधनी महानुभाव, उपस्थित अतिथीगण तथा सम्पूर्ण नियमनकारी निकायहरु कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड ,सञ्चालक समितिका पदाधिकारीज्यूहरु, संस्थागत साझेदार, अभिकर्ता, बीमित तथा सञ्चारकर्मी लगायत कर्तव्यपरायण कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरी सभाध्यक्षबाट साधारण सभा समापन गरिएको छ।