Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै

बैतडी कारागारबाट भागेका एक जना कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये एक जना फरार रहेकाले सुरक्षा चुनौती बढ्दै गएको कारागार प्रशासनले जनाएको छ ।

जेनजी प्रदर्शनको क्रममा ६२ जना थुनुवा र कैदीबन्दीमध्ये जबर्जस्तीकरणी मुद्दाका राजेश लुहार फरार रहेका कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले बताए । पाटन नगरपालिका–३ गुजर घर भएका लुहारको खोजीकार्य जारी रहेको भए पनि उनी सम्पर्कमा नरेहका उनले जानकारी दिए। उनका अनुसार निज कैदीले जिल्ला अदालतको फैसलाबाट जबर्जस्तीकरणी मुद्दामा १० वर्षे कैद सजाय भोगिरहेका थिए ।  

यसैबीच जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फरार कैदीबन्दीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ । कैदीबन्दी स्वेच्छिक रूपमा सम्पर्कमा नआए प्रचलित कानुनअनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

फरार रहेका कैदीबन्दीका बारेमा कसैलाई जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई गोप्य रूपमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै फरार कैदीबन्दीका कारण सुरक्षा चुनौती थपिएको प्रजिअ पौडेलले बताए।