Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

वीरगन्ज महानगरपालिकामा पुनः बढाइयो कर्फ्यु

वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यु आदेश पुनः थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सुरक्षा अवस्था अझै सामान्य हुन नसकेको भन्दै कर्फ्यु अवधि बढाएको हाे । 

मंगलबार दिउँसो एक सूचना जारी गर्दै प्रशासनले आज बेलुका ६ बजेसम्म कर्फ्यु रहने जानकारी गराएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू  आदेश गरेकाे थियाे ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज्ने प्रयास गरिराखेको जानकारी दिएका छन् । “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी सो सिमनाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरिएको थियाे”, उनले भने।

आवश्यक परे सुरक्षाकर्मीलाई गोली चलाउनसमेत अधिकार दिइएको उल्लेख गर्दै प्रशासनले सर्वसाधारणलाई संयमित रहन र आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

वीरगन्ज महानगरको पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया पुल, दक्षिणमा शंकराचार्य गेट र उतरमा गण्डक चोकसम्म कर्फ्यु लगाइएको छ ।  

प्रजिअ दाहालले कफ्र्युका बेलामा सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कनका लागि अनुरोध गरे । कफ्र्यु आदेश अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने चल्न पाउने प्रशासनले जनाएको छ ।