Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

रक्षा बमको काँग्रेसजनलाई चेतावनी- एमालेकै बाटोमा नजानु, विशेष महाधिवेशन अपरिहार्य छ

जेनजी अभियन्ता रक्षा बमले नेपाली काँग्रेसलाई युवाहरुलाई धोका दिने एमालेकै बाटोमा हिड्न लागेको आरोप लगाएकी छन् । बमले काँग्रेसका कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनको पक्षमा उभिन आग्रह समेत गरेकी हुन् ।

उनले भनेकी छन्- 'आफ्नै पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा दुई खेमामा बाँडिनुभएको छ । हामी स्पष्ट छौँ, तपाईंहरू जो नियमित महाधिवेशनको नाममा यथास्थितिवाद रोजिरहनुभएको छ, तपाईंहरूले हाम्रो आन्दोलनलाई नै अस्वीकार गरिरहनुभएको छ। भदौ २३ मा काँग्रेसभित्रकै जिनजी साथीहरू पनि परिवर्तनको माग गर्दै सडकमा उत्रिनुभएको थियो।उहांहरू आज पनि परिवर्तनको पक्षमा बोलिरहनु भएकै छ र तपाईंहरूले त्यो आवाज पनि निस्तेज पार्न खोजेको जस्तो देखिन्छ ।'

बमले परिवर्तनका लागि आवाज उठाउँदा जनताका छोराछोरीहरू मारिएका र युवापुस्ता घाइते भएको भएको उल्लेख गर्दै निराशाको लामो औँसीबाट थोरै आशाको जून खोजिरहँदा, काँग्रेसमा देखिएको यथास्थितिवादले सिङ्गो देशलाई मास डिप्रेसनमा पुर्‍याउने खतरा देखिरहेको टिप्पणी गरेकी छन् ।

उनले भनेकी छन्- 'नेकपा एमालेले यो मास डिप्रेसन बाँड्दै हिँडिरहेकै छ।आफ्नै विधानलाई लत्याउदै, फेरि पुरानै नेतृत्वलाई निर्वाचित गरेर एमालेले आफ्नो बाटो रोजिसकेको छ ।अब तपाईंहरू पनि त्यही बाटो लाग्दै देशको युवापुस्तालाई धोका दिनुहुन्छ, कि देशको भविष्य कोर्ने सुन्दर बगैँचा निर्माणमा आफ्नो तर्फबाट साथ दिनुहुन्छ । हामी त्यो हेर्न पर्खिरहेका छौँ ।'

बमले आजको असाधारण राजनीतिक संकटमा असाधारण निर्णय आवश्यक रहेको भन्दै काँग्रेसमा विशेष महाधिवेशन अपरिहार्य रहेको बताएकी छन् । उनले तपाईंहरूको आजको यात्राले नै तपाईंहरूको गन्तव्य तय गर्ने बताउदै चुनाव दैलोमै आइपुगेको र मतदाताहरू परिवर्तनको पक्षमा आफ्नो मत खसाल्न तयार रहेको सम्झाएकी छन् ।