Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मुक्तिनाथ विकास बैंक २० वर्षमा : ‘मुक्तिनाथ एग्रिफाइनान्स ३६०’ आयोजना

मुक्तिनाथ विकास बैंकको २०औं वर्ष प्रवेशका अवसरमा बैंकले कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व बृद्धि र किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले ‘मुक्तिनाथ एग्रिफाइनान्स ३६०’ कार्यक्रम गरेको छ ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारले सरकारका तर्फबाट कृषि क्षेत्रको समग्र विस्तार गर्न सबै सरोकारवालामा उत्प्रेरणात्मक वातावरण निर्माण हुनुपर्नेमा जोड दिए ।

यसै सन्दर्भमा कृषि लगानी विस्तार तथा कर्जा गुणस्तर सुदृढ बनाउन क्रेडिट ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बीमा, मूल्य शृङ्खलामा समन्वय, सहकारी तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिने नीति र योजना बनाउन सकेमात्र कृषि क्षेत्रको ठोस विकास हुन सक्ने मन्त्री परियारको भनाइ छ ।

उनले महिलामैत्री कृषि विकास गरिनुपर्ने, कृषिलाई प्रविधिसँग जोडेर युवा लक्षित स्वरोजगारीे व्यवस्था गर्नुपर्ने, साना किसानलाई वित्तीय पहुँच अझै विस्तार गर्नुपर्ने र साना किसानलाई स्तरोन्नति गर्ने कार्यमा सबैले कदम चाल्नुपर्ने बताए । सरकारले नयाँ कृषि नीति छिट्टै ल्याउन लागेकाले कृषिका विविध समस्या समाधान हुन सक्ने अपेक्षा उनको छ ।

त्यसैगरी कृषि मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले पहिले राज्य आफैंले कृषि क्षेत्र विकासका लागि मूल्य शृङ्खला विकास गर्ने प्रयास गरे पनि पछि सरकारले निजीकरणको नीतिगत व्यवस्थापछि निजी क्षेत्रले आफ्नै हिसाबमा काम गर्न थालेको बताए ।

जसले मूल्य शृङ्खला तोडिन पुगेको उनले बताए । तर, अब बैंक तथा वित्तीय संस्थाले नै कृषिसम्बन्धी आफ्नै सहायक कम्पनी खोल्न कदम चाल्न उनले सुझाव दिए । यस कार्यमा नेपाल राष्ट्र बैंकलाई आवश्यक समन्वय गर्न उनले अनुरोध गरे ।

कार्यक्रममा बैंकिङ विशेषज्ञ अजय श्रेष्ठले कृषि ऋणमा उच्च जोखिम, कमजोर कर्जा गुणस्तर, उत्पादनशीलता र मूल्य शृङ्खखलामा संरचनागत कमजोरीलाई प्रमुख चुनौतीका रूपमा औँल्याए ।

सोही कार्यक्रममा ‘नेपाल कृषि उद्यमहरूमा कसरी फस्टाउन सक्छ ?’ शीर्षकमा छलफल पनि भएको थियो । छलफलमा बैंकिङ विशेषज्ञ भुवन दाहाल, राष्ट्र बैंक नियमन विभाग कार्यकारी निर्देशक रामु पौडेल, कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र अध्यक्ष डीबी बस्नेत, कृषि उद्यमी बिमला आचार्य दहाल लगायत सहभागी थिए ।

कार्यक्रममा बैंक सञ्चालक समिति अध्यक्ष खिमप्रकाश मल्ल, सञ्चालक उमेशकुमार आचार्य, सीईओ प्रद्युम्न पोखरेल, राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापा, राष्ट्र बैंक प्रवक्ता गुरुप्रसाद पौडेले लगायत सहभागी थिए ।