पुनः प्रतिनिधि सभाकै निर्वाचनका लागि पृथ्वीसुब्बा गुरुङले नवौँ पटक संसदीय चुनाव लड्ने भएका छन् । लमजुङ एमालेले गुरुङसहित ६ जनाको नाम सिफारिस गरेका हुन् ।
सिफारिस हरनेमा नेताहरू जमिन्द्रमान घले, धनञ्जय दवाडी, कृष्ण अधिकारी, भगवती थापा र लक्ष्मीदेवी अधिकारीको नाम रहेकाे एमाले लमजुङले जनाएको छ ।
त्यस्तै नेपालको संसदीय राजनीतिमा सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बन्नेहरूमा पृथ्वीसुब्बा गुरुङ पनि एक हुन् ।
गुरुङ २०४३ सालदेखिका सबै संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन् । २०४३ सालमा लमजुङ क्षेत्र २ बाट जनपक्षीय उम्मेदवार बनेका उनी ०४८ मा मालेका तर्फबाट उम्मेदवार बनेर पराजित भएका थिए । २०५१ र ०५६ सालमा पनि गुरुङ सोही क्षेत्रबाट उम्मेदवार बनेर हारेका थिए ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी पहिलो पटक निर्वाचित भए । तर, २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए । २०७४ को निर्वाचनमा लमजुङ प्रदेशसभा ९ख० बाट प्रदेश सांसदमा निर्वाचित भएर उनी गण्डकीको संस्थापक मुख्यमन्त्री बनेका थिए ।