Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

सुमना श्रेष्ठले नयाँ रास्वपालाई शुभकामना दिँदै भनिन्- ‘व्यक्तिगत अवसर मेरो एजेन्डा होइन’

सुमना श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई शुभकामना दिएकी छन्। उनले जनताको चाहना बलियो नयाँ राजनीतिक शक्तिको रहेको उल्लेख गर्दै त्यस दिशामा पहल गर्ने सबैलाई धन्यवाद तथा बधाई दिएकी हुन्।

श्रेष्ठले आफू व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न नभएको स्पष्ट पार्दै पार्टी छोड्नुको कारण अवसर नपाउनु नभएको बताएकी छन्। देशका युवाहरूका लागि स्वदेशमै समान अवसर सिर्जना गर्ने र नेपालीलाई नेपाली भएर सम्मानपूर्वक बाँच्न सक्ने अवस्था निर्माण गर्ने नै आफ्नो मूल एजेन्डा रहेको उनको भनाइ छ।

फेसबुकमार्फत व्यक्त विचारमा उनले भनेकी छन्, ‘म व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न भएको थिएन। रास्वपा छोडेको पनि त्यहाँ अवसर नपाएर होइन। देशका युवाहरूका लागि देशमै समान अवसर बनाउने र नेपालीलाई नेपालीमात्र भएर बाँच्न सक्ने अवस्था सिर्जना गर्नु नै मेरो एकमात्र एजेन्डा हो।’

श्रेष्ठले राजनीतिक दलभित्र प्रश्न गर्ने संस्कार समाप्त भए लोकतन्त्र पनि समाप्त हुने चेतावनी दिँदै प्रश्नलाई दबाउन मिडिया ट्रायल र साइबर बुलिङमार्फत चरित्र हत्या गर्ने प्रवृत्तिले दलभित्र लोकतन्त्र टिक्न नसक्ने उल्लेख गरेकी छन्।

उनले नयाँ रास्वपाको नेतृत्वले हाल उठेका प्रश्नहरूमा आवश्यक सुधार गर्ने विश्वास व्यक्त गर्दै पार्टीका सदस्यहरूले नेतृत्वलाई प्रश्नभन्दा माथि नराख्नुपर्ने धारणा राखेकी छन्। सही प्रश्नले मात्र राजनीतिक दललाई सही दिशामा लैजान सक्ने उनको निष्कर्ष छ।