राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसिएका ऊर्जामन्त्री कुलमान घिसिङले समानुपातिक सूचीमा भान्जादेखि ससुरासम्मको नाम राखेको भन्दै पार्टीभित्रै विरोध भएपछि उक्त नाम फिर्ता लिने बचन दिएका छन्।
कुलमानले भान्जादेखि ससुरासम्म नाता पर्नेलाई समानुपातिक सूचीमा राख्नु आफ्नो गल्ती भएको स्वीकार्दै उक्त नाम फिर्ता लिने बचन दिएका हुन्।
पार्टीका एक केन्द्रीय सदस्यले कुलमानले नाता पर्नेहरूको नाम फिर्ता लिन र सूचीमा तल परेका नामहरुलाई माथि राख्न सभापति रवि लामिछानेसँग कुरा गर्ने बताएका छन्।
सोमबार रातिको सातबुँदे सहमति अनुसार उज्यालो नेपाल पार्टी रास्वपामा विलय भइसकेको छ। कुलमान रविपछि पहिलो वरीयताको उपसभापति बनेर रास्वपामा गएका छन्। साथै उक्त सहमतिपछि रास्वपाका तर्फबाट निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा कुलमानले नातामा भान्जा पर्ने राम लामा र ससुरा पर्ने धर्मलाल तामाङको नाम समावेश गराएका थिए। तर उनीहरू उज्यालो नेपालका सदस्यसमेत नरहेको ती केन्द्रीय सदस्यले बताएका छन् ।
यसै कारण पार्टी सदस्यलाई समेत कुलमानले जानकारी नदिई नातावादलाई बढावा दिएको भन्दै उक्त बैठकमा विरोध भएको हो।