Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

रास्वपाको समानुपातिक मतदानमा रमेश प्रसाईलाई सर्बाधिक मत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो चरणको समानुपातिक प्राइमरी निर्वाचनमा १० हजारभन्दा बढी मत प्राप्त गरेका उमेदवारको सूची सार्वजनिक गरिएको छ ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पार्टीको समानुपातिक सूचीतर्फ सबैभन्दा धेरै मत रमेश प्रसाईंले १८ हजार २२३ मत प्राप्त गरेका छन् । त्यस्तै टासी लोजोमले आदिवासी जनजातिअन्तर्गत तेस्रो नम्बरमा सबैभन्दा धेरै मत प्राप्त गरेकी छन् । लोजोमले १३ हजार ७२ मत पाएकी छन् । आदिवासी जनजाति महिलातर्फ सबैभन्दा धेरै मत बढी गायिका सत्यकला राईले १४ हजार २०१ मत प्राप्त गरेकी छन् ।

त्यस्तै इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा उमेदवार बनेर पराजित मिलन लिम्बूले १३ हजार ५९ मत प्राप्त गरेका छन् । त्यस्तै दलिततर्फ विजय जैरुले सबैभन्दा धेरै १३ हजार १४३ मत पाएका छन् भने खसआर्यतर्फको सूचीमा प्रसाईंपछि प्रमोद न्यौपानेले १४ हजार १६७ मत प्राप्त गरेका छन् । खसआर्यको महिलातर्फ रञ्जु दर्शनाले सबैभन्दा धेरै १३ हजार ५५१ मत प्राप्त गरेकी छन् ।

त्यस्तै टीका संग्रौला (ज्वाला) ले १३ हजार १०६, लिमा अधिकारी (आचार्य) ले १२ हजार ७६०, समीक्षा बास्कोटाले १२ हजार ४६० मत पाएका छन् । त्यसैगरी विपीनकुमार आचार्यले १२ हजार २४५, क्रान्तिशिखा धितालले  ११ हजार ७८१, प्रतिभा रावलले ११ हजार ७२१ मत प्राप्त गरेका छन् भने स्वस्तिका लामिछाने ११ हजार ५४६ मत पाएकी छन् । त्यसैगरी मधेसीतर्फ पुनमकुमारी अग्रवालले सबैभन्दा धेरै १५ हजार ७४५ मत प्राप्त गरेकी छन् । त्यस्तै मुस्लिमतर्फ समिना मियाले सबैभन्दा धेरै १५ हजार ९६७ मत पाएकी छन् । थारूतर्फ प्रेमलाल चौधरीले सबैभन्दा धेरै १७ हजार ४२५ मत प्राप्त गरेका छन् । 

रास्वपाले शनिबारदेखि सोमबार बिहान ११ बजेसम्म समानुपातिक उम्मेदवार छान्न आन्तरिक मतदान गरेको थियो । आन्तरिक प्रतिस्पर्धाबाट तथा प्राथमिक निर्वाचनबाट आएको समानुपातिक सूचीलाई अन्तिम रूप दिन राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा रास्वपाको केन्द्रीय समितिको बैठक अहिले जारी रहेको छ ।