Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुमाथि राजनीतिक दबाब सह्य हुँदैन: सन्तोष कोइराला

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूरा गर्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई कुनै प्रकारको असहजता हुन नहुने बताएका छन् ।

सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको ‘बैंकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम’ विषयक छलफल कार्यक्रममा उनले बैंकिङ क्षेत्र ५० हजार नेपालीलाई रोजगारी दिएको भन्दै राजनीति स्वार्थको लागि यो क्षेत्रमा असर पुर्याउने काम नगर्न अनुरोध गरेका छन् ।

उनले भने, ‘आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई कुनैपनि प्रकारको असहजता र पछिल्लो समयमा भएका घटनाहरु हुनु भएन । हामी यसको विरोध गर्छौं । ५० हजार नेपालीलाई नै रोजगारी दिएर बसेको बैंकिङ क्षेत्रमा राजनीतिक अवरोध नगर्न अनुरोध गर्दछु ।’

यस्तै, उनले राजनीतिक विषयमा कुनै चासो नभएपनि राजनीति बढाउने क्रममा बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुमाथि धरपकडहरु, धम्की आउने गरेको भन्दै यसलाई सहेर नबस्ने बताए ।

उनले भने, ‘राजनीतिसँग हाम्रो कुनै लेनदेन पनि छैन् । कसले कसरी राजनीति गर्छ भन्ने कुरामा त्तिा चासो पनि राख्दैनौं । तर राजनीति बढाउने क्रममा बैंक तथा वित्तिय संस्थाका कर्मचारी साथीहरुमाथि कुनैपनि प्रकारका धरपकडहरु हुन्छन्, धम्की र त्रास हुन्छ, कालोमोसो दलिन्छ भने बैंकर्सहरु पनि त्यसलाई सहेर बस्दैनन् ।’

सोही क्रममा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलका संयोजक डा. रेवतबहादुर कार्कीले अर्थ क्षेत्रमा ६६ प्रतिशत योगदान बैंकिङ क्षेत्रको भएको हुनाले पहिला सुुधार आफैबाट गर्नुपर्ने बताए । उनले भने, ‘अर्थ क्षेत्रमा ६६ प्रतिशत योगदान बैंकिङ क्षेत्रको छ । त्यो हिसाबले हेर्दा पहिला हामीले आफैबाट सुधार गर्नुपर्छ ।’