Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सार्दीखोला विद्यार्थी सहयोग समितिद्वारा प्रअ आचार्य सम्मानित

कास्की माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोलामा सार्दीखोला विद्यार्थी सहयोग समितिले आफ्नो ३० औँ स्थापना दिवसमा शिक्षक सम्मान, छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण गरेको छ ।

समितिले माछापुच्छ्रे – १, २ र ३ भित्रका १२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका २६० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई कूल  रु सात लाख ४२हजार बराबरको छात्रवृत्ति रकम, शैक्षिक सामग्री तथा पुरस्कार प्रदान गरेको हो ।

हालै आयोजित एक कार्यक्रममा संस्कृतिविद् डा. जगमान गुरुङले प्रधानाध्यापक सन्तोष आचार्यलाई पुरस्कार तथा अन्य सहयोग सामाग्री प्रदान गरे । माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोलाका प्रधानाध्यापक तथा माछापुच्छ्रे गाउँपालिकाका उत्कृष्ट प्रधानाध्यापक सन्तोष आचार्यलाई विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा पु‍र्याएको दीर्घकालीन, नेतृत्वदायी र अतुलनीय योगदानको उच्च कदर गर्दै रु पचास हजार नगद, दोसल्ला तथा सम्मानपत्रसहित विशेष सम्मान प्रदान गरिएको छ ।

सो अवसरमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु‍र्याउने शिक्षकहरूलाई विशेष सम्मान गरिएको  थियो । माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोलाका शिक्षक एलिसा अधिकारी र सङ्गीता गुरुङ, मेघराज आधारभूत विद्यालय, घाचोककी शिक्षक सपना मिजार, तथा अन्नपूर्ण आधारभूत विद्यालय, मिर्साकी शिक्षक तिलकुमारी गुरुङलाई उत्कृष्ट शिक्षकका रूपमा जनही रु छ हजार  नगद, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको हो । शिक्षक छनोट विद्यालय, समुदाय र अभिभावकको सिफारिसका आधारमा गरिएको समितिले जनाएको छ ।
 
कार्यक्रममा वक्ताहरूले उत्कृष्ट शिक्षकहरू समुदायका साझा सम्पत्ति भएको उल्लेख गर्दै यस्ता सम्मान कार्यक्रमले शिक्षकहरूको मनोबल अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई शिक्षण पेसाप्रति आकर्षित गर्ने विश्वास व्यक्त गरेका थिए ।

विसं २०५३ मा  माछापुच्छ्रे माध्यमिक विद्यालयका पूर्व विद्यार्थी भीम तामाङद्वारा स्थापित उक्त समितिले विगत तीन दशकदेखि विद्यार्थीको शैक्षिक उत्थान, प्रतिभा विकास र शिक्षा क्षेत्रमा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित निरन्तर सामाजिक तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ ।