लामो रस्साकस्सीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) आइतबार बिहान सहमतिमा पुगेका छन्। सहमतिपछि लामिछानेले उक्त कदम देशले खोजेको सहमति भएको प्रतिक्रिया दिएका छन्।
सहमति सार्वजनिक भएपछि उनले सामाजिक सञ्जाल (फेसबुक) मा लेखे, “सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।”
दुवै नेताबीच तलमाथि भइरहेका बहसपछि अन्ततः ७ बुँदे सहमति भएको हो। सहमति अनुसार पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ, चुनाव चिह्न घण्टी कायम रहनेछ र पार्टी सभापति रवि लामिछाने नै रहनेछन्।
सहमति अनुसार आसन्न प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह हुनेछन्। सहमतिमा युवाहरूले उठाएको भ्रष्टाचारविरुद्धको आन्दोलनका माग सम्बोधन गर्ने, सुशासन तथा सुधारका एजेन्डालाई प्राथमिकता दिने र १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय राष्ट्र बनाउने मार्गचित्र कार्यान्वयन गर्ने प्रतिबद्धता समावेश छ।
दुवै नेताको बारम्बारको छलफलपछि भएको यो सहमति आगामी राजनीतिक समीकरणमा प्रभावशाली मानिएको छ।