नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका तयारीलाई तीव्र बनाउँदै आज (आइतबार) सचिवालय बैठक बस्ने भएको छ। बैठक बिहान ११ बजे ललितपुरस्थित च्यासलको पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
एमालेका अनुसार आइतबार र सोमबार निर्वाचन आयोगमा समानुपातिक सिटतर्फका उम्मेदवारको बन्द सूची बुझाउने निर्धारित समय भएकाले आजको बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ।
पार्टी स्रोतका अनुसार, विभिन्न भूगोल, समुदाय र क्षेत्रगत समावेशीतालाई ध्यानमा राखेर अन्तिम सूची मिलाउने तयारी छ।
नेताहरूको कार्यविभाजनबारे पनि छलफल
आजको सचिवालय बैठकमा ११औं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन सम्बन्धी एजेन्डामा पनि छलफल हुने बताइएको छ। महाधिवेशनपछि संगठन विस्तार, परिचालन तथा जिम्मेवारी बाँडफाँटमा भएका केही विषय औपचारिक रूपमै निर्णय गरिने अपेक्षा गरिएको छ।
एमाले नेतृत्वले निर्वाचन नजिकिँदै गर्दा संगठनलाई सक्रिय बनाउने र निर्वाचन केन्द्रित तयारीलाई गति दिने उद्देश्यले आजको बैठक महत्त्वपूर्ण हुने बताएको छ।