Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

अर्घाखाँचीको कम्युनमा प्रहरी छापा, नेकपा (माओवादी)को विरोध

अर्घाखाँचीको सितगङ्गा नगरपालिका–११ मा रहेको कम्युन तथा सर्वसाधारणका घरमा प्रहरीले छापा मारेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले विरोध जनाएको छ ।

पार्टीका अनुसार हिजो पौष ११ गते प्रहरीले कम्युन र स्थानीय बासिन्दाका घरमा छापा मारी दमन गरेको आरोप लगाइएको छ । नेकपा (माओवादी)ले यस घटनालाई ‘दमनकारी श्वेत आतंक’ को संज्ञा दिँदै राज्यको कदमप्रति गम्भीर आपत्ति जनाएको हो।

पार्टी प्रवक्ता प्रकाण्ड सीद्वारा जारी विज्ञप्तिमा एकातिर सरकारले शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउने दाबी गरिरहेको र अर्कोतिर माओवादीसँग सम्बन्धित उत्पादन केन्द्र तथा सर्वसाधारणका घरमा छापा मार्नुले सरकार शान्तिपूर्ण निकासको पक्षमा नरहेको दाबी गरिएको छ।

विज्ञप्तिमा सरकारको यस्तो कदमले देशलाई अशान्तितर्फ धकेल्ने खतरा बढेको उल्लेख गर्दै उक्त घटनाको घोर भत्र्सना गरिएको छ । साथै, दमनकारी गतिविधिको भण्डाफोर तथा प्रतिरोध गर्न न्यायप्रेमी जनता र प्रगतिशील शक्तिहरूलाई अपिल गरिएको छ।

पार्टीले मानवअधिकारकर्मी र सम्बन्धित निकायहरूलाई गैरकानुनी प्रहरी छापामारी तथा दमनको निष्पक्ष छानबिन गर्न पनि आग्रह गरेको छ। यस विषयमा प्रहरी प्रशासनको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी छ। 

photo_7335d57d.jpg