पर्सा गाउँपालिका, सर्लाहीमा सञ्चालन गरिएको तीन दिने जलवायुजन्य विपद् व्यवस्थापन सम्बन्धी तालिम आज विधिवत् रूपमा सम्पन्न भएको छ।
ROYM–Nepal को आयोजनामा, Foundation-S The Sanofia Collective को आर्थिक सहयोग तथा पर्सा गाउँपालिका, सर्लाहीको समन्वयमा पौष ७ गतेदेखि सुरु भएको उक्त तालिम समुदायस्तरमा विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।
तालिमको मुख्य उद्देश्य पर्सा गाउँपालिकाभित्रका सामुदायिक संस्थाका पदाधिकारीहरूलाई जलवायुजन्य विपद् व्यवस्थापन सम्बन्धी ज्ञान तथा सीप प्रदान गर्नु रहेको ROYM–Nepal का जिल्ला कार्यक्रम संयोजक अरबिन्द चौधरीले जानकारी दिए।
उनका अनुसार तालिममार्फत बाढी, डुबान, आगलागी, आँधी–हुरी जस्ता विपद् आउँदा समयमै पूर्वतयारी, उद्धार, राहत तथा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सहभागीहरूलाई व्यवहारिक जानकारी दिइएको थियो।

समापन कार्यक्रममा पर्सा गाउँपालिकाका गाउँपालिका अध्यक्ष धिरेन्द्र राय यादव, रोजगार संयोजक मिथिलेश यादव, वन प्राविधिक राजेन्द्र प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले तालिमले समुदायमा विपद् प्रतिकार्य क्षमता बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
