पर्साको बहुदरमाई नगरपालिकामा सडक मर्मतको ठेक्का प्रक्रियामा व्यापक अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा बैरिया प्रवेशद्वारदेखि नगरदाहाँसम्मको सडक कालोपत्रे गर्ने ठेक्कामा कमिसनको चलखेल गरी सार्वजनिक सूचना नै लुकाएको पुष्टि भएपछि अख्तियारले कानुनी कारबाही अघि बढाएको हो।
अख्तियारको अनुसन्धानका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सह–लेखापाल उपेन्द्र कुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक सञ्जय कुमार साहले आपसी मिलेमतोमा बोलपत्रको सूचना लुकाएका थिए। सार्वजनिक खरिद ऐन अनुसार राष्ट्रिय वा स्थानीय पत्रिकामा सूचना छाप्नुपर्नेमा उनीहरूले पत्रिकाको एउटा प्रति ९सेटिङका लागि मात्र छापेर सर्वसाधारण० र अन्य व्यवसायीले थाहा नपाउने गरी ठेक्का प्रक्रिया अघि बढाएका थिए। प्रेस काउन्सिलको अभिलेखमा उक्त मितिको पत्रिकामा कुनै सूचना नभेटिएपछि यो किर्ते काम भएको रहस्य खुलेको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिएका छन्।
सूचना नै प्रकाशन नगरी पत्रिकामा विज्ञापन छापिएको भन्दै नगरपालिकाबाट ६५ हजार रुपैयाँ भुक्तानी समेत लिइसकेको पाइएको छ। झुट्टा बिल भरपाई बनाएर सरकारी सम्पत्ति हानिनोक्सानी पुर्याउने र आफूहरूले गैरकानुनी लाभ लिने बदनियत राखेको अख्तियारको दाबी छ। भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसूर गरेको भन्दै अख्तियारले मुस्तफा, साह र प्रकाशक सञ्जय कुमार साहलाई सजाय र जरिवानाको मागदाबीसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
