Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

वीरगञ्ज हुँदै पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा रु ३० अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताए। 

गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ६.४२ प्रतिशत अर्थात् रु एक अर्ब ८३ करोड बढी राजस्व सङ्कलन भएको हो । जबकि गत आवको पाँच महिनामा भने रु ६९ अर्ब १५ करोड मूल्यका पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको थियो । चालु आवको पाँच महिनामा वीरगञ्ज हुँदै रु ३५ अर्ब ३१ करोड मूल्यको डिजेलको आयात भयो । 

त्यसैगरी रु १७ करोड ३६ लाख मूल्यको पेट्रोल र रु १२ अर्ब १७ करोडको  एलपी ग्यासको पनि आयात भयो । त्यस्तै रु सात अर्ब २५ करोडको एटिएफ र रु १९ करोडको मट्टितेल आयात भएको छ ।