द ब्रिटिश कलेज, काठमाडौँले पछिल्लो समय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आफूविरुद्ध प्रसारित भ्रामक सूचना, आरोप र सामग्रीहरूबारे तथ्यपरक जानकारी सार्वजनिक गर्दै विज्ञप्ति जारी गरेको छ। कलेजले आफूले कानुनी तथा शैक्षिक मापदण्डअनुसार नै काम गर्दै आएको दाबी गर्दै विद्यार्थीहरूलाई भ्रममा नपर्न आग्रह गरेको छ।
विज्ञप्तिमा द ब्रिटिश कलेज नेपालका सम्बन्धित नियामक निकायको स्वीकृतिमा सञ्चालित प्रतिष्ठित शैक्षिक संस्था रहेको उल्लेख छ। कलेजले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वविद्यालयहरूसँग औपचारिक सहकार्य गरी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
यता, दुबईस्थित ‘द वुलविच इन्स्टिच्युट’ सम्बन्धित निकायको स्वीकृतिमा २५ भन्दा बढी देशका ३०० भन्दा बढी विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको स्वतन्त्र संस्था भएको कलेजले स्पष्ट गरेको छ।
शैक्षिक कार्यक्रम र प्रगति
फाउण्डेशन कार्यक्रमहरू अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त रहेको कलेजले जनाएको छ। Hospitality Management (HM) अध्ययनरत विद्यार्थीलाई दुबईमा Higher National Diploma (HND) अन्तर्गत सिप–विकास तथा अध्ययनका अवसर उपलब्ध गराइएको कलेजको दाबी छ।
HND पूरा गरेपछि विद्यार्थीहरूले भिसा तथा शैक्षिक मापदण्ड पूरा गरेसँगै बेलायत, अष्ट्रेलिया वा दुबईका साझेदार विश्वविद्यालयमा स्नातक (Top-Up) अध्ययन गर्न सक्ने व्यवस्था कलेजले गरेको छ।
इन्टर्नशिपबारे स्पष्टिकरण
कलेजले सबै विद्यार्थीलाई इन्टर्नशिपको अवसर दिने प्रयास गरिने तर इन्टर्नशिप ग्यारेन्टी नगर्ने नीति भर्ना अघि नै स्पष्ट गरिने विज्ञप्तिमा उल्लेख छ।
दुबईमा आवास व्यवस्था
दुबई पुगेका विद्यार्थीलाई प्रारम्भिक बसोबास सुगम बनाउन तेस्रो पक्षमार्फत अस्थायी आवास व्यवस्था मिलाइने तर दीर्घकालीन आवास विद्यार्थीले आफैं गर्नुपर्ने जानकारी भर्ना अघि नै गराइएको कलेजको दाबी छ।
विद्यार्थीलाई बेवास्ता गरिएको, बेघर बनाइएको वा अलपत्र पारिएको दाबीलाई कलेजले पूर्ण रूपमा असत्य र भ्रामक भनेको छ।
९ विद्यार्थी नेपाल फर्किएको विषयमा प्रतिक्रिया
HM कार्यक्रमका ५१ विद्यार्थीमध्ये ९ जना व्यक्तिगत असन्तुष्टिका कारण करिब तीन महिनापछि नेपाल फर्किएको कलेजले जनाएको छ। उनीहरूका अभिभावकसँग पारदर्शी छलफल गरी समाधान प्रक्रियामा अघि बढाइएको र अभिभावकहरू सन्तुष्ट रहेको दाबी पनि कलेजले गरेको छ।
सामाजिक सञ्जाल दुरुपयोग र क्याम्पस अवरोध
कलेजले मंसिर २३ र पुस ७–८ मा सामाजिक सञ्जालमा अनधिकृत सामग्री प्रसारण, पर्चाबाजी, उक्साहट र क्याम्पसमा अवरोध सिर्जना गर्ने प्रयास भएको आरोप लगाएको छ।
कलेजका कर्मचारीसँग दुर्व्यवहार भएको र कलेजमा भर्ना नभएका व्यक्तिहरू समेत गलत सामग्री सार्वजनिक गरी अव्यवस्था फैलाउन सक्रिय भएको कलेजले उल्लेख गरेको छ।
कलेजका अनुसार आधिकारिक छलफलका लागि तीन पटकसम्म बोलाउँदासमेत सम्बन्धित विद्यार्थीहरू उपस्थित नभएको र शैक्षिक वातावरण अवरुद्ध भएपछि सुरक्षानिकायको सहयोग लिनुपरेको थियो।
शोषण वा मानव तस्करीका आरोप अस्वीकार
कलेजले आफूविरुद्धका शोषण र मानव तस्करीसम्बन्धी सबै आरोपलाई आधारहीन, झुटा र मानहानीपूर्ण भन्दै अस्वीकार गरेको छ। कलेजले कानुनी, शैक्षिक र नैतिक मापदण्डप्रतिको प्रतिबद्धता दोहोर्याएको छ।
शैक्षिक गतिविधि नियमित
कलेजले सबै शैक्षिक कार्यक्रमहरू निर्धारित तालिकाअनुसार नै सञ्चालन भइरहेको र पठनपाठन, मूल्याङ्कन तथा परीक्षा प्रभावित नभएको स्पष्ट पारेको छ।
अभिभावक तथा विद्यार्थीलाई सामाजिक सञ्जालमा फैलिएको अपुष्ट सूचनामा विश्वास नगर्न अनुरोध गर्दै कलेजले गुणस्तरीय शिक्षा र विद्यार्थीहितमा निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ।