Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

लगातार दुई दिनको गिरावटपछि नेप्सेमा सुधार, ३ अर्ब ४२ करोडको कारोबार

लगातार आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार भने हल्का सुधार देखिएको छ। आज ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से ३.२७ अंकले बढेर २५ सय ८४.४९ बिन्दुमा पुगेको छ।

नेप्से सूचकमा सुधार आएसँगै कारोबार भएका १३४ कम्पनीका सेयर मूल्य बढेका छन् भने १ सय १७ कम्पनीका सेयर मूल्यमा गिरावट देखा परेको छ। यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

आजको कारोबारमा एसवाई प्यानलका सेयर बेच्ने लगानीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन्। विपरीत, सिटिजन लाइफ इन्स्योरेन्सका सेयर बिक्री गर्ने लगानीकर्ताले भने सर्वाधिक घाटा व्यहोर्नुपरेको छ।

उपसमूहगत सूचकहरूमा पनि मिश्रित अवस्था देखियो। ७ समूहका उपसूचक हरियालीमा रहँदा ६ समूहका उपसूचक राताम्मै भए।

लगातारको गिरावटपछि आएको यो सानो सुधारले बजारमा केही सकारात्मक संकेत देखाए पनि लगानीकर्ताहरू अझै सावधान मोडमै रहेको विश्लेषकहरूको भनाइ छ।