Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

राजनीतिमा ‘नयाँ समीकरण’ को संकेत? रवि लामिछाने र बालेन शाहबीच ५ घण्टे गोप्य भेट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सोमबार राति भएको गोप्य भेटवार्ताले राजनीतिक वृत्तमा नयाँ हलचल ल्याएको छ। लामो समय हिरासतपछि रिहा भएका लामिछानेले राजनीतिक भेटघाटलाई तीव्र बनाइरहेका बेला बालेनसँगको यो भेटलाई विशेष महत्वपूर्ण रूपमा हेरिएको छ।

कमलपोखरीस्थित रास्वपा नेता असीम शाहको निवासमा भएको छलफल साँझ ८ बजे सुरु भई मंगलबार बिहान १ बजेसम्म चलेको थियो। करिब पाँच घण्टा लामो संवादमध्ये अधिकांश समय लामिछाने र शाहबीच ‘वानटुवान’ कुराकानी भएको स्रोत बताउँछन्।

बैठकमा रास्वपा तर्फबाट सभापति लामिछाने, उपसभापति डीपी अर्याल र असीम शाह सहभागी थिए भने बालेनको समूहबाट वार्ता संयोजक कुमार बेन उपस्थित थिए। जेनजी अभियानका अगुवा सुदन गुरुङ पनि सुरुवाती चरणमा सहभागी भएको बताइएको छ।

स्रोतका अनुसार यो भेट केवल शिष्टाचारमा सीमित थिएन। आगामी निर्वाचनहरूमा सम्भावित तालमेल, वैकल्पिक राजनीतिक शक्तिलाई संस्थागत गर्ने योजना तथा दीर्घकालीन सहकार्यका सम्भावनाबारे गम्भीर कुराकानी भयो। दुवै पक्षले औपचारिक निष्कर्ष सार्वजनिक नगरे पनि आगामी दिनमा निरन्तर संवाद अघि बढाउने सहमति भएको बताइन्छ।

हालै बाबु गुमाएका बालेन शाह र करिब २६० दिनपछि कारागारबाट रिहा भएका लामिछानेबीच भावनात्मक संवादसमेत भएको उल्लेख छ। व्यक्तिगत विषयबाट सुरु भएको कुराकानी विस्तार हुँदै राष्ट्रिय राजनीति, अस्थिरता, आगामी चुनौति र जनताका अपेक्षाबारे गहिरो चर्चा गरिएको लामिछाने निकट स्रोतले जनाएको छ।

भेटपछि रास्वपा नेता असीम शाहले सञ्चारकर्मीसँग कुरा गर्दै ‘देश निर्माणका लागि वैकल्पिक नेतृत्वले मिलेर अघि बढ्ने आधार तयार भएको’ अभिव्यक्ति दिए। उनले सामाजिक सञ्जालमा “कथाको सुखद सुरुवात” भन्दै टिप्पणी पनि गरेका छन्।

छलफलपछि रवि लामिछाने र बालेन शाह एउटै गाडीमा स्थल त्यागेका थिए, जसले पनि दुवैबीचको संवादलाई अत्यन्त सकारात्मक संकेतको रूपमा हेरिएको छ। रिहाइपछि लामिछानेले जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारसँग भेटघाट गर्दै आफ्ना गतिविधि सक्रिय बनाएका छन्, जसलाई आगामी राजनीतिक योजनासँग जोडेर व्याख्या गरिएको छ।

नेपालको राजनीतिक शक्तिसन्तुलन पुनर्संरचना भइरहेका बेला वैकल्पिक नेतृत्व मानिएका यी दुई पात्रबीचको भेटलाई ‘नयाँ समीकरण’ का संकेतका रूपमा राजनीतिक विश्लेषकहरूले हेरिरहेका छन्।