Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सेयर बजार फेरि २६ सयमुनि, नेप्से १९.९२ अंकले घट्यो

सेयर बजारमा निरन्तर दबाब देखिँदा आइतबार नेप्से परिसूचक फेरि २६ सय बिन्दुमुनि झरेको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से १९.९२ अंकले घट्दै २५९५ बिन्दुमा कायम भएको हो। कारोबार सुरु भएदेखि नै बजार ओरालो लाग्दै दिनभर ‘रातो’ अवस्थामा रह्यो।

कारोबार रकममा पनि सामान्य गिरावट आएको छ। अघिल्लो दिन ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ५२ करोड रुपैयाँमा सीमित भयो।

आजको कारोबारमा ४३ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत रूपमा होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६३ प्रतिशतले घट्यो। त्यसैगरी जीवन बीमा १.५२ प्रतिशत, विकास बैंक १.४२ प्रतिशत र फाइनान्स समूह १.३८ प्रतिशतले ओरालो लागे।

अन्य समूहमा बैंकिङ ०.४७, जलविद्युत् ०.८६, लगानी ०.६२, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.८०, अन्य ०.४२ तथा व्यापार समूह १.०१ प्रतिशतले घटेका छन्।

कम्पनीगत रूपमा एसवाई प्यानलको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै १० प्रतिशतले वृद्धि भयो। त्यसैगरी तेह्रथुम पावरको ८.२० प्रतिशत, मानुषी लघुवित्तको ८.१४ प्रतिशत र लक्ष्मी लघुवित्तको ५.५७ प्रतिशतले मूल्य बढ्यो।

उता सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घट्दा नारायणी डेभलपमेन्ट बैंक ७.५५ प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावर ७.४५ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंक ६.६४ प्रतिशतले ओरालो लागे।

आजको कारोबारमा स्वस्तिक लघुवित्त, बाराही हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा परेका छन्।