Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

एमालेबाट संविधानसभा सांसद बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा

पूर्व नेकपा (एमाले) बाट संविधानसभा सांसद बनेकी राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा समेटिएकी छिन्। रास्वपाले सार्वजनिक गरेको कोशी प्रदेशको समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा गोल्छाको नाम समावेश गरिएको हो।

रास्वपाले उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूका लागि आह्वान गरेअनुसार तयार पारिएको उक्त सूचीमा गोल्छा कोशी प्रदेशबाट मधेशी कोटामा परेकी हुन्। पार्टीले प्रारम्भिक सूचीमा समेटिएका उम्मेदवारहरूसँग शनिबार छलफल गर्ने जनाएको छ।

राज्यलक्ष्मी गोल्छा यसअघि दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (एमाले) को समानुपातिक कोटाबाट सांसद बनेकी थिइन्। त्यस समय उनी संविधान निर्माण प्रक्रियामा सहभागी भएकी थिइन्। तर, पार्टीभित्रको मतभेदपछि एमालेसँग उनको राजनीतिक सम्बन्ध कमजोर बनेको थियो।

२०७२ सालमा तत्कालीन प्रधानमन्त्री उम्मेदवार केपी शर्मा ओलीको पक्षमा मतदान नगरेको विषयलाई लिएर एमाले नेतृत्वले उनीसँग स्पष्टीकरण माग्दै राजीनामा दिन निर्देशन दिएको थियो। तर गोल्छाले उक्त निर्देशन अस्वीकार गरेकी थिइन्।

एमालेसँगको सम्बन्ध बिग्रिएपछि गोल्छा केही समय विवेकशील साझा पार्टीमा आबद्ध भएकी थिइन्। पछि विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता भएपछि उनी रास्वपाको राजनीतिमा सक्रिय भएकी हुन्।

व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य गोल्छा प्रतिष्ठित व्यवसायी महेन्द्रकुमार गोल्छाकी श्रीमती हुन्। विराटनगरको औद्योगिक तथा व्यावसायिक पहिचान निर्माणमा गोल्छा समूहको योगदान उल्लेखनीय मानिन्छ। रास्वपाको समानुपातिक सूचीमा गोल्छा समेटिनुका साथै उनको राजनीतिक भूमिकालाई लिएर नयाँ चर्चा सुरु भएको छ।