नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने
नेकपा (एमाले) ले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको गहिरो अनुसन्धान सुरु गर्न सरकारसँग आग्रह गरेको छ। बिहीबार सम्पन्न पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनले यससम्बन्धी प्रस्ताव पारित गर्दै विगतमा राज्यका उच्च राजनीतिक तथा प्रशासनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरेको हो।
महाधिवेशनबाट पारित प्रस्तावबारे जानकारी गराउँदै केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले दोषी देखिएकाहरूलाई कानुन बमोजिम कारबाही गर्नुपर्नेमा पार्टी स्पष्ट रहेको बताए। उनले राज्यका अख्तियारप्राप्त निकायलाई यस विषयमा आवश्यक निर्णय लिन आग्रह गरे।
एमाले सधैँ सुशासन, पारदर्शिता र स्वच्छताका पक्षमा उभिँदै आएको उल्लेख गर्दै ज्ञवालीले पार्टीभित्र प्रश्न उठेपछि सार्वजनिक ओहोदाबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्ने र अभियोजन भएपछि कानुनबाट सफाइ नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गर्ने परम्परा रहँदै आएको बताए।
“विगतमा राज्यका उच्च राजनीतिक तथा प्रशासनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरियोस्। चर्चामा रहेका सबै भ्रष्टाचार काण्डको गहिरो अनुसन्धान होस् र दोषी देखिएकाहरूलाई कानुनअनुसार कारबाही गरियोस्,” ज्ञवालीले भने।
नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने
यसैबीच, नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने भएको छ। बैठक भोलि दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वेटमा आह्वान गरिएको पार्टीले जनाएको छ।
महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूले शपथ ग्रहण गरिसकेका छन्। पहिलो बैठकले पार्टीको संगठनात्मक संरचना, जिम्मेवारी बाँडफाँट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।