Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकममध्ये हालसम्म रु पाँच अर्ब १८ करोड दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ ।
 
नेपाल बीमा प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै निर्जीवन बीमा कम्पनीमा परेका कूल तीन हजार ३०३ वटा बीमा दाबीको करिब रू २३ अर्ब ४५ करोड दाबी रकममध्ये हालसम्ममा उक्त रकम भुक्तानी भइसकेको जनाएको हो । सम्पत्ति बीमातर्फ करिब रू तीन अर्ब ८२ करोड र मोटर बीमातर्फ करिब रू एक अर्ब २२ करोड भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
 
इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ करिब रु सात करोड ५० लाख, परिवहन बीमातर्फ करिब रू एक करोड ५५ लाख र अन्य बीमातर्फ करिब रू पाँच करोड ५० लाख अग्रिम भुक्तानीसमेत गरी दाबी रकम भुक्तानी भएको छ ।
 
अग्रिम भुक्तानीसहित करिब तीन अर्ब दुई करोड पुनःबीमा दाबी भुक्तानी
 
जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनःबीमा कम्पनीले निर्जीवन बीमा कम्पनीलाई करिब रू तीन अर्ब दुई करोड अग्रिम भुक्तानीसमेत गरी पुनःबीमा दाबी भुक्तानी गरेको छ ।
 
नेपाल पुनःबीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीबाट परेका कूल दुई हजार ८६२ वटा पुनःबीमा दाबीको दाबी रकम करिब रू १६ अर्ब ६२ करोड रहेको अध्यावधिक तथ्याङ्क छ ।