राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आफ्नै निर्वाचन क्षेत्र काठमाडौँ–१ मा उपेक्षित भएका छन्। पार्टीको वडा अधिवेशनका क्रममा सो निर्वाचन क्षेत्रमा पर्ने चारवटै वडाका अधिवेशनमा उनलाई नबोलाइएको हो।
काठमाडौँ–१ अन्तर्गत पर्ने वडा नम्बर ३१, २९, १० र ११ का वडा अधिवेशन मिश्रको अनुपस्थितिमै सम्पन्न भएका छन्। वडा नम्बर ३१ को अधिवेशनले चमन कोइरालाको अध्यक्षतामा सर्वसम्मत रूपमा वडा समिति चयन गरेको छ। यस्तै, वडा नम्बर १० मा सरोजजंग थापाको नेतृत्वमा सर्वसम्मत वडा समिति गठन भएको छ।
त्यसैगरी, वडा नम्बर २९ मा रीना वलीको अध्यक्षतामा कार्यसमिति गठन गरिएको छ भने वडा नम्बर ११ मा अम्बिका अर्यालको नेतृत्वमा सर्वसम्मत रूपमा समिति चयन भएको छ।
कुनै पनि वडा अधिवेशनमा आफूलाई नबोलाइएको विषयमा मिश्रले पार्टीको कार्यसम्पादन समिति बैठकमा गुनासो राखेको बुझिएको छ। तर, उनको गुनासोलाई बैठकमा गम्भीर रूपमा नलिइएपछि उनी रुष्ट भएको पार्टी स्रोतले जनाएको छ।