Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

एमाले महाधिवेशनको मतदान स्थगित, भोलि बिहान ८ बजेदेखि निर्वाचन

नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि तय गरिएको निर्वाचन प्रक्रिया प्राविधिक तयारी नपुगेका कारण बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ।

आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका रहे पनि आवश्यक तयारी पूरा नभएको भन्दै कार्यक्रम स्थगित गरिएको एमाले निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार प्रतिनिधिहरूलाई भोलि बिहान भृकुटीमण्डपमा उपस्थित हुन आग्रह गरिएको छ।

निर्वाचनमा विद्युतीय भोटिङ प्रणाली प्रयोग गरिनेछ। रामलक्ष्मण भोटिङ मेसिनमार्फत मतदान गरिने आयोगले जानकारी दिएको छ।

एमाले अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। यसपटकको महाधिवेशनमा १९ पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार मैदानमा छन्। सबै पद समेट्दा ३०० भन्दा बढी उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा रहेका छन्।

महाधिवेशनको निर्वाचन प्रक्रियालाई चासोका साथ हेरिएको छ भने भोलि हुने मतदानले पार्टीको आगामी नेतृत्व तय गर्नेछ।