Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

चन्द्रागिरि हिल्सले बोलायो साधारणसभा

भदौ २५ गतेको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति भोगेको चन्द्रागिरि हिल्स लिमिटेड मर्मत–सम्भारपछि मंसिर १५ गतेदेखि पुनः सञ्चालनमा आएको छ। क्षति भएको भए पनि कम्पनीले शेयरधनीहरूलाई खाली हात भने नराख्ने भएको छ । कम्पनीले लाभांश प्रस्तावसहित १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २३ गते बुधबार बिहान ११ बजे काठमाडौंको थानकोटस्थित कम्पनीको आफ्नै बटम स्टेशन परिसरमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। साधारणसभामा सञ्चालक समितिले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ।

यसका अतिरिक्त, बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने, प्रभु बैंक लिमिटेडबाट लिएको कर्जा अनुमोदन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति स्वीकृत गर्ने तथा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्तावहरू पनि सभामा पारित गर्नेछन्।​

साधारणसभा र लाभांश वितरणका लागि कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार पुस ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नाम दर्ता भएका शेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।