Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

बाबा बैजुनाथ चिनी मिलले २० लाख क्विन्टल उखु क्रसिङ गर्ने

रौतहटमा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिज (चिनी मिल) ले यस बर्ष २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । गत वर्ष पौने १३ लाख क्विन्टल उखु क्रसिङ गरेको यो मिलले यस वर्ष १८ देखि २० लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने लक्ष्य राखेको हो ।

दैनिक २० हजार क्विन्टल उखु क्रसिङ क्षमता रहेकोमा यस वर्ष त्यसलाई बढाएर २५ हजार क्विन्टल पु¥याइएकाले लक्ष्य अनुसार उखु क्रसिङ हुने मिल संचालक बैजु प्रसाद बाबराले बताए । उनका अनुसार डोंगाको पूजा गरिसकेकाले अबको एक हप्तापछि मिलबाट उखु क्रसिङ हुनेछ ।

कटहरिया नगरपालिका–८ डुमरियामा सञ्चालित सो उद्योगमा रौतहट सहित छिमेकी जिल्लाका किसानले पनि उखु दिने गरेका छन । किसानबाट खरिद गरिएको उखुको १५ दिनभित्र भुक्तानी गर्ने व्यवस्था मिलाएको मिल संचालक बाबराले जानकारी दिए ।

उखु बिक्री गरेवापतको भुक्तानी समयमा नै प्राप्त हुने भएकाले पनि प्रत्येक वर्ष जिल्लामा उखु खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको उनले दाबी गरे। तर पछिल्लो समय चिनी मिलले प्रयाप्त मात्रमा उखु नपाएकाले लक्ष्य भन्दा कम क्रसिङ हुने गरेको तथ्याङले देखाउछ ।

उखु खेतीप्रति किसानहरूको आकर्षण गराउन मिल प्रशासनले नयाँ प्रजातिका बीउ उपलब्ध गराएको छ । नयाँ प्रजातिका उखुको बीउ प्रयोग गर्दा प्रति कठ्ठा ३० देखि ५० क्विन्टलसम्म उखु उत्पादन हुन सक्ने अपेक्षा गरिएको छ ।  उद्योगले किसानलाई उखु खेती सम्बन्धी विभिन्न सहयोग र प्राविधिक परामर्शसमेत उपलब्ध गराउँदै आएको छ ।