Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

भीम रावलको टिप्पणी- एमालेमा मैले उठाएको विषय सहि प्रमाणित भयो, प्रतिनिधिहरूले अवसरको उपयोग गरुन

नेपाली कम्युनिष्ट पार्टीका नेता भिम रावलले नेकपा एमालेको महाधिवेशन बारे टिप्पणी गर्दै पार्टीलाई आफुले शुरु गरेको बाटोमा हिँडाउने अवसर एघारौं महाधिवेशनका प्रतिनिधिहरूको सामु आएको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले एमालेको दशौँ महाधिवेशनमा आफुले विधि, पद्धति, स्वच्छ निर्वाचन, सिद्धान्त र राष्ट्रियताको कुरा गरी अध्यक्ष पदमा दिएको उम्मेदवारी कति उचित थियो भन्ने अहिले सबैलाई स्पष्ट भएको विश्वास व्यक्त गरेका छन् ।

उनले भनेका छन्:

एमालेमा रहँदा दशौँ महाधिवेशनमा मैले विधि, पद्धति, स्वच्छ निर्वाचन,सिद्धान्त र राष्ट्रियताको पक्षमा अडेर अध्यक्ष पदमा उम्मेदवारी दिँदा कतिपयले केपी ओलीसँगको व्यक्तिगत इबी र विरोधको रुपमा चित्रित गर्ने चेष्टा गरेका थिए। मेरो उद्देश्य पार्टीलाई विधि,पद्धति अनुरूप देशको सर्वोपररी हितको दिशामा अगाडि बढाउने र महाधिवेशनमा निर्वाचन स्वच्छ वातावरणमा भई प्रतिनिधिहरूले चुन्ने र चुनिन पाउने अधिकारको निर्वाध उपयोग गर्ने स्थिति बनोस् भन्ने थियो । तर ओलीबाट त्यो प्रक्रिया अवरुद्ध पारियो । अहिले घटनाक्रमबाट त्यसबेला मैले उठाएको कुरा कति सही रहेछ भन्ने स्पष्ट भएको छ । अहिले धेरैले केपीको निरंकुश, स्वेच्छाचारी प्रवृत्ति र व्यवहारलाई स्वयं भोगेका र देखेका छन्। अतः एमालेको एघारौं महाधिवेशन त्यस्तो प्रवृत्ति र व्यवहारबाट पार्टीलाई मुक्त गर्दै स्वयं पार्टी, देश र जनताको हितमा संगठनलाई उपयोगी बनाउने अवसरको रुपमा प्रतिनिधिहरुले उपयोग गर्न सके भने उचित हुनेछ ।