नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आइतबार जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच भएको खेलसँगै समूह चरण समाप्त भएको छ। समूह चरणको अन्त्यसँगै प्रतियोगिताको प्लेअफ समीकरण समेत पूरा भएको छ भने शीर्ष तथा पुछारका चार–चार टिमको टुंगो लागेको छ।
एनपीएल–२ को प्लेअफमा सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले क्रमशः शीर्ष चारमा स्थान सुरक्षित गरेका छन्। पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज र जनकपुर बोल्ट्स भने पुछारका चार स्थानमा सीमित भएका छन्।
अंकतालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्सले सात खेलबाट १२ अंक जोड्दै लिग चरणमा छ जित र एक हारको नतिजा निकाल्यो। दोस्रो स्थानमा रहँदै प्लेअफ प्रवेश गरेको विराटनगर किंग्सले सात खेलबाट १० अंक हासिल गर्यो, जसमा पाँच जित र दुई हार समावेश छन्। सुदूरपश्चिम र विराटनगरबीच पहिलो क्वालिफायर मंगलबार (मंसिर २३) हुने तय भएको छ।
तेस्रो स्थानमा रहेको काठमाडौँ गोर्खाजले पनि सात खेलबाट १० अंक जोड्यो। पाँच जित र दुई हारको नतिजा भएपनि नेट रनरेटमा पछाडि परेपछि काठमाडौँ तेस्रो स्थानमा सीमित रह्यो। चौथो स्थानको लुम्बिनी लायन्सले आठ अंकसहित प्लेअफ यात्रा तय गर्यो। लुम्बिनीले लिग चरणमा चार खेल जित्दा तीन खेलमा हार व्यहोरेको हो।
पाँचौँ स्थानमा रहेको पोखरा एभेन्जर्सले सात खेलमा तीन जित र चार हारसहित ६ अंक मात्र जोड्न सक्यो। छैटौँ र सातौँ स्थानमा रहेका कर्णाली याक्स र चितवन राइनोजले समान सात खेलमा दुई जित र पाँच हारसहित चार–चार अंक जोडेका छन्, जहाँ नेट रनरेटका आधारमा कर्णाली चितवनभन्दा अगाडि रह्यो।
तालिकाको पुछारमा भने पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स रह्यो। जनकपुरले लिग चरणमा सात खेल खेल्दा एक जित र छ हारसहित मात्र दुई अंक जोड्न सक्यो।
एनपीएल–२ को फाइनल खेल आउँदो शनिबार (मंसिर २७) आयोजना हुने तालिका रहेको छ।