Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

चितवन राइनोजले विराटनगर किंग्सलाई दियो १७५ रनको लक्ष्य, रवि बोपाराको अर्धशतकीय पारी

रवि बोपाराको उत्कृष्ट अर्धशतकको बलमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई १७५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १७४ रनको योगफल बनाएको हो।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रनको पारी खेले। उनले ३८ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै एनपीएल दोस्रो संस्करणमा लगातार तेस्रो अर्धशतक प्रहार गरेका हुन्। यसअघि उनले कर्णाली याक्स र लुम्बिनी लायन्सविरुद्ध पनि अर्धशतक पुर्‍याएका थिए।

बोपाराले ६६–३ को अवस्थामा सैब जैबसँग ४९ रनको साझेदारी गर्दै टोलीलाई संकटबाट उकासे। साथै, ११५–४ को स्थितिबाट पाँचौँ विकेटका लागि ५६ रनको महत्त्वपूर्ण साझेदारी गर्दै चितवनलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याए। जैबले ३२ रनको योगदान दिए।

कप्तान कुशल मल्लले १४ बलमा एक चौका र एक छक्कासहित २० रन बनाए। यस्तै, देव खनालले २२ बलमा तीन चौका र एक छक्कासहित २८ रन जोडे भने डेविड मलानले नौ बलमा तीन चौका प्रहार गर्दै १७ रन थपे।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लिंगेले समान दुई–दुई विकेट लिए। चार ओभर बलिङ गर्दै सन्दीपले २४ रन खर्चिए। सुभव रन्जानेले एक विकेट हात पारे।

प्रतियोगितामा विराटनगर किंग्स यसअघि लगातार तीन खेल जित्दै तालिकाको दोस्रो स्थानमा रहेको छ। चितवन राइनोज दुई खेलबाट दुई अंक जोडेर चौथो स्थानमा छ।

विराटनगरले यसअघि पोखरा एभेन्जर्सलाई ५३ रनले, काठमाण्डू गोर्खाजलाई पाँच विकेटले र जनकपुर बोल्ट्सलाई नौ रनले पराजित गरिसकेको छ। आज पनि सोही विजयी यात्रालाई कायम राख्ने लक्ष्यसहित मैदान उत्रिएको छ।

चितवनले भने पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध ६ विकेटले हार व्यहोरेको थियो।