नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विराटनगर किङ्ग्सले लगातार दोस्रो जित दर्ता गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले काठमाडौं गोर्खाजलाई ५ विकेटले पराजित गर्दै सशक्त प्रदर्शन दोहोर्याएको हो।
काठमाडौंले प्रस्तुत गरेको १३५ रनको लक्ष्य विराटनगरले १७.२ ओभरमा पाँच विकेट गुमाउँदै सहजै भेट्टायो। विराटनगरको जितमा ओपनर जर्ज मन्से (मुन्से) सर्वाधिक प्रभावशाली रहँदै १६ बलमा ३६ रन बनाए। उनले ५ चौका र २ छक्का प्रहार गरे। मार्टिन गप्टिलले २५, नरेन भट्ट (साउद) ले २४ तथा बसिर अहमेदले १९ रनको योगदान गरे।
२१–१ को अवस्थामा मुन्से र गप्टिलले ५३ रनको साझेदारी गर्दै विराटनगरलाई लक्ष्य नजिक पुर्याएका थिए। ओपनर लोकेश बमले पनि १० बलमा दुई छक्कासहित १४ रन जोड्दै आक्रमक सुरुआत दिलाएका थिए।
काठमाडौंका साहब आलमले २ विकेट लिए। जेरहार्ड एरास्मस, कप्तान करण केसी र सन्तोष यादवले समान एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनाएको थियो। काठमाडौंका अलराउन्डर मोहम्मद आदिल आलमले २५ बलमा दुई छक्का र चार चौकासहित ४८ रनको तेज–तर्रार पारी खेले। ओपनर बेन चार्ल्सवर्थले ३२ तथा सन्तोष यादवले २६ रन जोडे।
टोलीले सुरुआतमै आकाश त्रिपाठी (०), रिकार्डो भास्कोन्सेलोस (३) र प्रतीक श्रेष्ठ (२) लाई सस्तोमा गुमाएको थियो। आदिल र सन्तोषले ५६–५ को अवस्थामा ४५ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याएका थिए।
विराटनगरका मर्चेन्ट डी लाङ्गेले चार ओभरमा १७ रन खर्चेर २ विकेट लिए। सन्दीप लामिछाने, सूर्य तामाङ र शुभम रन्जानेले समान एक–एक विकेट हात पारे।
प्रतियोगितामा काठमाडौंको यो तेस्रो र विराटनगरको दोस्रो खेल हो। लगातार दुई जितसँगै विराटनगरले ४ अंक जोड्दै शीर्ष–स्थानतर्फ मजबुत दाबेदारी कायम राखेको छ। विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो।
काठमाडौंले भने तीन खेलमध्ये दुई खेलमा हार व्यहोर्दै २ अंक मात्र जोडेको छ। काठमाडौंले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराए पनि दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो।