Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

एनपीएलमा आज दुई रोचक भिडन्त

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेल हुने भएका छन्। पहिलो खेल बिहान ११:१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो ३:३० बजे काठमाण्डु गुर्खाज र विराटनगर किंग्सबीच हुनेछ।

पहिलो खेल : सोमपाल र रोहितको प्रतिस्पर्धा

शनिबारको पहिलो खेल कर्णाली याक्सका कप्तान सोमपाल कामी र लुम्बिनी लायन्सका कप्तान तथा राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलबीचको प्रतिस्पर्धाले विशेष ध्यान खिच्ने अपेक्षा गरिएको छ।

पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको कर्णाली पहिलो जितको खोजीमा मैदान उत्रनेछ। यता, चितवनलाई ६ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको लुम्बिनी लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ।

दोस्रो खेल : करणसन्दीप आमनेसामने

दोस्रो खेल राष्ट्रिय टोलीका स्टार फास्ट बलर करण केसी र लेग स्पिनर सन्दीप लामिछानेबीचको भिडन्तका कारण थप रोचक बन्नेछ।

काठमाण्डु गुर्खाजका कप्तान करण नेतृत्वको टोलीले दुई खेलबाट एक जित र एक हार सहित दुई अंक जोडेको छ। पहिलो खेलमा जनकपुर बोल्टसलाई ५ विकेटले हराए पनि दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले पराजित भएको थियो।

विराटन‌गर किंग्सले एक खेल खेलेरै पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै दुई अंक हासिल गरिसकेको छ। आजको खेलमा काठमाण्डु पुनरागमनको लक्ष्यमा हुनेछ भने विराटनगर लगातार दोस्रो जित खोज्दै उत्रिनेछ।

एनपीएल सिजन२ : कार्यक्रम र टिकट व्यवस्था

मंसिर १ देखि सुरु भएको एनपीएल दोस्रो सिजन मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ। लिग चरणदेखि तीन प्लेअफ र फाइनलसहित कुल ३२ खेल आयोजना हुने क्यानले जनाएको छ।

हरेक खेलका लागि ९,४५० टिकट बिक्री गरिएको छ। शनिबारका खेलका लागि साधारण टिकट ५०० रुपैयाँ र प्रिमियम टिकट १,५०० रुपैयाँ तोकिएको छ। लिग चरणका अन्य दिनको टिकट दर ५०० र १,००० रुपैयाँ छ भने प्लेअफपछिका खेलमा जनरलतर्फ १,००० र प्रिमियरतर्फ २,००० रुपैयाँ लाग्नेछ।सिजनल टिकटको मूल्य क्यानले १५,००० रुपैयाँ निर्धारण गरेको छ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन्।