Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एनपीएलमा आज चितवन–कर्णाली र विराटनगर–पोखराबीच प्रतिस्पर्धा हुँदै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै छन्। पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन्। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ११:४५ बजे सुरु हुने खेलमा चितवनको नेतृत्व कुशल मल्लले गर्नेछन् भने कर्णाली याक्सलाई सोमपाल कामीले कप्तानी गर्नेछन्।

आजै हुने दोस्रो खेल दिउँसो ४ बजे सुरु हुनेछ, जहाँ विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन्। विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेका हातमा रहेको छ भने पोखरा एभेन्जर्सलाई कुशल भुर्तेलले नेतृत्व गर्नेछन्।

यसअघि सोमबार सम्पन्न उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स काठमाडौ‌ं गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो।

क्यानले यो संस्करणका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरी आयोजना हुने जनाएको छ। हरेक खेलका लागि ९ हजार ४५० टिकट बिक्रीमा राखिनेछ। एनपीएल मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। यस वर्षको प्रतियोगितामा लिग चरण, तीन प्लेअफ र फाइनलसहित कुल ३२ खेल हुनेछन्।

टिकट दर अनुसार, शनिबार हुने खेलका लागि साधारणतर्फ ५०० र प्रिमियमतर्फ १५०० रूपैयाँ तोकिएको छ। अन्य लिग खेलका दिन साधारण टिकट ५०० र प्रिमियम १००० रूपैयाँ हुनेछ। प्लेअफपछि हुने खेलका लागि सामान्य टिकट १००० र प्रिमियम टिकट २००० रूपैयाँ पर्नेछ। क्यानले सिजनल टिकटको दर १५ हजार रूपैयाँ निर्धारण गरेको छ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन्।