Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एनपीएलका हरेक चौका वापत एनसेलले ४ वटा शैक्षिक सामग्री वितरण गर्ने

एनसेल फाउन्डेसनले यस वर्ष पनि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) सिजन२ का खेलहरूमा हानिने प्रत्येक चौकाबापत ग्रामीण तथा दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई ४ वटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको छ।

गत वर्षदेखि सुरु गरिएको सहकार्यमार्फत ६५३ चौका हानिँदा २,६१२ विद्यार्थी लाभान्वित भएकाले यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको हो। क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्ने यो अभियानमार्फत एनसेलले हालसम्म देशभरका ९,००० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिसकेको छ।

फाउन्डेसनले उपलब्ध गराउने प्रत्येक शैक्षिक सामग्री सेटमा स्कुल ब्याग, कापी, कलम, इरेजर, कटरलगायत आवश्यक स्टेशनरी सामग्री रहनेछन्, जसले विद्यार्थीहरूको पठनपाठनमा आवश्यक स्रोतको अभाव कम गर्न योगदान गर्ने विश्वास लिइएको छ।

एनसेलकी कर्पोरेट कम्युनिकेशन तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्, “क्रिकेटले हामी सबैलाई जोडेको छ। एनपीएलसँगको सहकार्यमार्फत सामुदायिक विद्यालयका विद्यार्थीहरूको उज्यालो भविष्यका लागि यो पहललाई निरन्तरता दिन पाएकोमा हामी खुसी छौं। खेलमा प्रहार हुने प्रत्येक चौका विद्यार्थीहरूको सिकाइ, अवसर र हुर्काइसँग जोडिनेछ।”

एनसेलका अनुसार सामग्रीहरू नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र कार्यान्वयन साझेदारको सहकार्यमा वितरण गरिनेछन्। यसले क्रिकेट मैदानको उत्साह र खेलाडीको उत्कृष्ट खेल प्रदर्शनमार्फत कक्षाकोठासम्म सकारात्मक प्रभाव पुर्‍याउने लक्ष्य राखिएको छ।