मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विद्यार्थी संगठनहरूले ५० प्रतिशत सहुतिलयत मागेका छन् ।त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई खेल हेर्न छुट दिनुपर्ने विद्यार्थीहरूको माग छ ।
शनिबार त्रिविका उपकुलपति, रजिस्टार तथा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष र सचिवसहितको बैठकमा विद्यार्थी संगठनहरूले यस्तो माग गरेका हुन् । विद्यार्थी संगठनहरुले विद्यार्थीलाई स्टल राख्न दिनुपर्ने, एनपीएलबाट भएको आम्दानीबाट कम्तीमा १० प्रतिशत रकम विद्यार्थीको अनुसन्धान र शैक्षिक विकासको लागि खर्च गर्नुपर्ने, विश्वविद्यालय भित्र पार्किङ निषेध गरि विद्यार्थीको सुरक्षाको जिम्मेवारी लिनुपर्ने, रंगशाला नजिकै रहेको महिला छात्रावासमा तारजाली लगाउनु पर्ने लगायतका माग गरेका छन् ।
क्यानले बिहीबार सूचना प्रकाशित गरी टिकट खुल्ला गरेको जनाएको छ। टिकटदर उद्घाटन र शनिबारका लागि सामान्य पाँच सय र प्रिमियम १५ सय रुपैयाँ तोकिएको छ भने सिजनका लागि १५ हजार तोकिएको छ ।
यस्तै, अन्य दिनका पाँच सय र एक हजार तथा प्लेअफर फाइनलका लागि एक हजार र दुई हजार रुपैयाँ तोकिएको छ । क्यानले पहिलो चरणमा प्रतियोगिताको पहिलो ६ दिनको खेलको लागि टिकट बिक्री खुल्ला गरेको हो। खेल आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा सञ्चालन हुँदैछ।
